
काठमाडौं । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी काम गर्न गठित संसदीय विशेष समितिको सभापतिमा रास्वपा संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ । यो सँगै उनी उक्त विशेष समितिको सभापति बन्ने पक्का भएको छ । संसदीय विशेष समिति सभापतिको लागि भोलि दिउँसो २ बजे निर्वाचन हुँदैछ ।
उनलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले समर्थन गरेका छन् । प्रस्तावकमा नेपाली कांग्रेसका मोहन आचार्य छन् भने समर्थकमा नेकपा एमालेका पुष्पराज कँडेल, नेकपाका रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा र रास्वपाकी निशा डाँगी रहेका छन् ।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको विनाशकारी बाढीपछिको पृष्ठभूमिमा असोज ५ गते संसदीय विशेष समिति गठन भएको थियो । १५ सदस्यीय समितिमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन् ।
समितिको कार्यअवधि तीन महिना तय गरिएको छ । पछि समितिको म्याद थप गर्न सकिने प्रावधान पनि राखिएको छ ।समितिको कार्यदेशमा हिमालमा जलवायु परिवर्तनको प्रभावको अध्ययन गर्ने रहेको छ ।














