
दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । खेलको ५९ औँ मिनेटमा नीरकुमार राईले ‘डी’ एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने प्रयास गर्यो । तर, सफल हुन सकेन । जीतसँगै पुलिसले भोलि उपाधिका लागि मनाङमस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । हिजोको खेलको ‘म्यान अफ दि म्याच’ नीरकुमार राई भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईंले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।











