
इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखा अन्तर्गत इटहरी उपमहानगर समितिले ‘युथ कंग्रेस कन्क्लेभ’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेसका युवा नेताहरुको विचार र भिजनलाई बाहिर ल्याउन चैत १९ गते शनिवार सो कार्यक्रम आयोजना गर्न लागिएको हो । इटहरीको दुर्गा पार्टी प्यालेसमा शनिवार दिउँसो १ बजे सुरु हुने कार्यक्रममा ७ वटा विषयमा युवा नेताहरुले विचार सम्प्रेषण गर्ने प्रेस युनियन इटहरी संयोजक विनय बाह्रकोटीले बताए । उनका अनुसार नेताहरुको लगाव र क्षमताको आधारमा विषयवस्तु उपलब्ध गराइएको छ । इटहरी उपमहानगरपालिकाभित्रका सरोकारका विषयमा युवा नेताहरुले रिपोर्ट प्रस्तुत गर्ने उनको भनाइ छ ।
जसमा इटहरीको शैक्षिक उन्नयनको विषयमा युवा नेता प्रदीप केसी, महिला तथा समावेशीताको सवालः मा निर्मला चौधरी, प्रविधिमैत्री सहरः मा मन्दीप भट्टराई, आर्थिक समृद्धिका आधारहरुः मा विक्रम घिमिरे, सामाजिक लोकतन्त्रका सवालहरुः मा सुवेक्छुक देवान, व्यवस्थित स्वास्थ्य सेवाः मा सन्दीप पौडेल र कला साहित्यको विषयमा रंगकर्मी सोनु जयन्तीले रिपोर्ट प्रस्तुत गर्ने भएका छन् । त्यसपछि वडाका युवा नेताहरुले वडास्तरीय समस्या राख्ने कार्यक्रम रहेको बाह्रकोटीले बताए । युवाहरुको रिपोर्ट र समस्या पहिचानको आधारमा इटहरी कांग्रेसबाट प्रमुखका दाबेदार नेताहरुले आफ्नो योजनासहित भनाइ राख्ने उनले जानकारी दिए ।
हाल देखिएका दाबेदारमध्ये नगर सभापति हेमकर्ण पौडेल, महाधिवेशन प्रतिनिधि भीमबहादुर पौडेल र रोहित प्रसाईंले आफ्ना कुरा राख्ने छन् । नेपाली कांग्रेस संसदीय दलका नेता तथा कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा इटहरीका सरोकारका विषयमा छलफल हुने बताइएको छ ।












