
नेपालको संविधानको मर्म अनुरुप तीन तहका सरकारबीच सहकार्य बिरलै हुने भएपनि संयोग उदाहरण बन्यो ‘ढाकाको राजधानी पाल्पा’ घोषणा कार्यक्रम ।
त्यसो त पाल्पालाई ढाकाको राजधानी घोषणा गरेपछि सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोमा कतिपयको गुनासो थियो–राजधानी घोषणा गर्दैमा के हुन्छ र मेयरसाब, सक्कली पाल्पाली ढाका चाहियो हामीलाई !
कतिको प्रतिक्रिया यस्तो थियो– बंगलादेशको राजधानी ढाका, ढाकाको राजधानी पाल्पा ? प्रतिक्रिया जे जस्तो भएपनि २०१५ सालमा ढाका उद्यमी गणेशमान महर्जनले चर्खा र तानबाट तानसेनमा सुरु गरेको स्वदेशी बस्त्रकलाको उत्पादन पाल्पाली ढाकाको पहिचान कायम भएको महर्जनकी धर्मपत्नी पूर्णमाया महर्जनको संन्तुष्टिले जाहेर गर्दछ- ‘पैसा कमाउन कामका लागि विदेश होइन बरु पाल्पा पठाउनु अब, स्वदेशी सीप जोगिन्छ, दुईचार पैसा देशमै कमाउन सकिन्छ ।’

यही चैत्र १२ गते तानसेन नगरपालिकाको आयोजना अनि तानसेनका मेयर अशोककुमार शाहीकै अध्यक्षतामा भव्य समारोहबीच लुम्विनी प्रदेशकी मन्त्री रमा घर्तीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्दै भनिन–‘पाल्पाली ढाका र काँसको पाल्पाली करुवाको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्दै, नक्कलीलाई विस्थापित गरौँ तव पाल्पाको पहिचान जोगिन्छ ।’
मेयर शाहीले समारोहमा मर्म पोखे– ‘ज्ञान, सीपले मात्र पाल्पाली ढाकाको प्रवर्द्धन हुँदैन तान राखेर बुन्न जरुरी छ । तान र लगानी चाहिए तानसेन नगरसरकार सघाउन तयार छ ।’ शाहीले केही समय गोरखपुरबाट आयातित नक्कली कपडा र पाल्पामै हातले बुनेको ढाकाको अलगअलग स्टल राखेर मोल र निर्माणबारे ग्राहकलाई बताएमा सक्कली ढाकाको बजार स्वतह बिस्तार हुने बताए ।
पाल्पाली ढाकाको नाममा गोरखपुर निर्मित सोफाको खोलको टोपी र अन्य सामग्री देख्दा टलक्क हुने त्यसैले धेरै ग्राहक ठगिने गरेको गुनासो तनहुँबाट तानसेन घुम्न आएका रमेश न्यौपानले गरे ।

हुन पनि केही वर्ष पहिले सक्कली ढाका लोप हुने अवस्थामा पुगेपछि तानसेनका मेयरसँग आफूहरुले पाल्पाली ढाकाको पहिचान जोगाउनका लागि अनुरोध गरेपछि राजधानी घोषणा लगायत सीपविकासका काममा तानसेनले सघाएको ढाका उद्यमी हरि रायमाझी, सागरमान महर्जनले बताए ।
पाल्पाली ढाकाको प्रवद्र्धनका लागि तानसेन नगरपालिकाको अग्रसरतामा प्रदेश र नेपाल सरकारसँगै अन्य संघसंस्थाले समेत हातेमालो गरेको अवस्था छ । देश विदेशबाट तानसेन घुम्न आउने पाहुनाले सक्कली पाल्पाली ढाका किन्न सकुन भनेर ब्राण्डिङ गरिएको र नगरपालिकाको सहयोगमा टुँडिखेलमा कोशेलीघर खोलिएको छ ।
बाहिरबाट आएका पाहुनाले ढाका सामग्रीको कोशेली घर भएको मेसो पाउनुअघि सडकका पसलबाट नक्कली ढाका पाल्पाली ढाका भन्दै किनिसकेको समेत सुनाउने गरेका छन् ।
तेह्थुमका ढाका उद्यमीले समेत ढाकाको राजधानी घोषणाका लागि दौडधुप गरेका थिए, घोषणाले मात्र पाल्पा ढाका उद्यमीको कर्तव्य पूरा हुने छैन बरु सक्कली ढाकाको उत्पादन अनि विविध सामग्री निर्माण र पाहुनाको पहुँच सुनिश्चित भएमात्र तानसेन पाल्पा पुग्ने ढाका पारखी ठगिने छैनन् ।

स्थानीय ढाका उद्यमीहरु संगठित पाल्पाली ढाका संघले छोटो समयमा सीपविकास र उत्पादन लगायतका धेरै कामहरु अगाडि बढाएको संघका सचिव मनोज पौड्यालले बताए । सक्कली ढाका बुन्न समय र सीपले मात्र हुँदैन लगाव चाहिन्छ तर पेटको भरथेग गर्न मुस्किल छ भन्छिन ढाकाकर्मी तुल्सा सारु ।
ढाकाकर्मी ढाका उद्योग मालिकको समेत चित्त बmुझाउने भाउ (मोल) राख्दा नक्कली ढाकाभन्दा महंगो हुने अनि सामान्य ग्राहकले किन्न नसक्ने अवस्था देखिएको छ ।
पाल्पालाई ढाकाको राजधानी घोषणा गरेर मात्र चुप बस्न हुँदैन बरु सबैले क्रियाशीलता बढाउनु पर्दछ, स्थानीय प्रदेश र संघीयसरकारले समेत सहकार्य गरेर लोप हुन लागेको पाल्पाको पहिचान ढाका र करुवाको उत्पादन बढाउनु पर्दछ भन्छन तानसेनका मेयर अशोककुमार शाही ।
कार्यक्रममा पुगेका संघीय सरकारका प्रतिनिधि सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले भने– ‘ढाकाको उत्पादन र बजारको विविधकरण अनि प्रविधिको उपयोग गरौँ, माया र दयामा होइन पौरखमा टिक्ने प्रण गरौँ ।’ यसो भएमा मात्र पाल्पाली ढाकाको कल्याण हुनेछ अन्यथा गोरखपुरे सोफाको टोपीले ग्राहकको मन लोभ्याइरहने छ ।
तीन तहका सरकारको चासो अनुसार काम भएमात्र पाल्पाली ढाका र करुवाको पहिचान जोगिने छ अन्यथा पाल्पाली ढाकाको नाममा गोरखपुरनिर्मित सोफाको खोलको टोपी र पाल्पाली करुवाको नाममा पोखरेली मेसिनमेड करुवाले ग्राहकलाई झुक्याइरहने छ तानसेनका मेयरसाब !
[email protected]












