काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९-८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ ।

आगामी आबको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दुरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको हो । मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लीक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ । इमेलमार्फत ([email protected]) सुझाव पेश गर्न सकिने व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजिवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, संचारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्वपूर्ण हुने मन्त्रालयको भनाइ छ । बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयबस्तुहरु चैत मसान्तभित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह छ ।
मन्त्रालयले अहिले कृषि, शिक्षा, बंैक, बित्तीय संस्था तथा बिमा क्षेत्र, निजी क्षेत्र, अर्थविद्लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको छ । मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव संकलन गरिरहेको छ ।














