
काठमाडौं । स्वतन्त्र अभियानले सडकबाट स्वतन्त्र उम्मेद्वार घोषणा अभियान सुरु गरेको छ । स्थानीय तहमा राजनीतिक दलहरु हुन नहुने भन्दै काठमाडौैंका बानेश्वरको सडकमा स्वतन्त्र उम्मेद्वार अभियान सुरु गरिएको हो ।
अभियानको घोषणा सभामा डा. विरेन्द्र झापालीले सबै पेशाकर्मीदेखि नागरिक समाजसम्म दलको भएकोले अब स्वतन्त्र मान्छे खोजिरहेको बताए । ‘सबै पेशाकर्मी कुनै न कुनै पार्टीमा हुन्छन् तर हामीले स्वतन्त्र उम्मेद्वार खोजिरहेका छौं । पार्टीहरु खत्तम भनेर गाली गर्ने होइन अब देशको लागि प्रबुद्ध, बौद्धिक व्यक्तित्वहरु लाग्नुपर्छ,’ उनले भने, ‘हामी कुर्सीको लागि लड्ने होइन देशको विकासको लागि उम्मेद्वारी घोषणा गरौं ।’
देश विकासका लागि देशभक्तहरुको ३ वटा पार्टी पर्याप्त हुने भन्दै १ सय ७७ पार्टी नचाहिने उनको भनाई छ । डा. सुरेन्द्र भण्डारीले स्थानीय तहको चुनावमा राजनीतिक दलको कार्यकर्ता भएर चुनाव लड्दा समाज विभाजन भएको बताए ।
त्यस्तै अधिवक्ता स्वागत नेपालले युवा नेताहरुलाई गाली गर्दै भने ‘मुलुक विगारेको कालै दाह्री भएका गगन थापा, योगेश भट्राईहरुले हो । स्थानीय तहको चुनावमा दलहरुलाई पाखा लगाउन, दल विहिन चुनाव बनाउन स्वतन्त्र अभियान सुरु भएको हो ।’
त्यसैगरी मधेसी युवा अभियान्ता गणेशकुमार मण्डलले स्थानीय तहलाई राजनीति मुक्त गर्नुपर्ने बताए । स्थानीय तहमा दलगत चुनाव हुँदा घरदेखि समाजसम्म असर पर्ने उनको तर्क थियो । ‘नेपालका ८७ प्रतिशत मान्छे स्वतन्त्र छन् । १३ प्रतिशत मात्रै राजनीतिक दलका सदस्य छन् । १३ प्रतिशतले ८७ प्रतिशत मान्छेलाई राज गरिरहेको छ । त्यो सिन्डिकेड तोड्न स्वतन्त्र अभियान आवश्यक छ ।’
स्वतन्त्र उम्मेद्वार अभियानमा पाका कम्युनिष्ट नेता बद्री खतिवडाले पनि बोलेका थिए । राष्ट्रियताको विषयमा धेरै समय बोलेका नेता खतिवडा स्यालहरु सिंह बन्न नसक्दै भन्दै अब स्वतन्त्र युवाहरु सिंह बन्ने तर्क गरे ।
यस्तै तेस्रो लिङ्िगहरुको अधिकार र न्यायको लागि काम गर्दै आएको ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले स्वतन्त्र उम्मेद्वारीको आवश्यकता आफूहरुले पनि महसुस गरिरहेको बताइन् ।














