काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारत सीमाका विषयमा द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेको बताएका छन् ।
शनिबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग सीमा विषयका बारेमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेको बताएका हुन् ।

पत्रकार सम्मेलनका क्रममा देउवाले भारतको आर्थिक रुपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको धारणा राखे । उनले नेपाल र भारत सडक र रेल जस्ता सम्पर्क सञ्जाल सम्बन्धी परियोजनाहरूमा थप प्रगति हुनेमा विश्वस्त रहेको बताए ।
प्रधानमन्त्री देउवाले महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने सवारी गुड्ने पुलको निर्माण र नेपालमा मल निर्यात गर्ने सम्बन्धी केही समय पहिले भएको समझदारी भएको र यसको सफल कार्यान्वयनमा जोड दिएको जानकारी दिए ।
उनले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन दुई जना सहमत भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिए ।
त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समक्षकी शेरबहादुर देउवाको भारत भ्रमणले दुई देश बिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
देउवा र आफूबिच नेपाल र भारतका सम्बन्धका विविध पक्षका बारेमा छलफल भएको उनले बताए । त्यस्तै मोदीले नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा साझेदारी हुनुपर्नेमा जोड दिए ।












