काठमाडौं । अहिले देशमा भारतको बिहार राज्य र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव सामान्य रुपमा परेको छ । हाल प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य ठाउँको मौसम बिहान सामान्यतया सफा रहेको जल तथ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश नं.१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने छ । यस्तै प्रदेश नं. १ को पहाडी भू–भागका थोरै ठाउँहरुमा र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । प्रदेश नं. १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
यसैबीच, प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।














