
काठमाडौं । उपत्यकाका ठूला डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामग्रीहरु भेटिएको छ । जिल्ला प्रशासन काठमाडौं र वाणिज्य विभागको संयूक्त अनुगमनका क्रममा सोमबार अनामनगरमा रहेको बिगमार्ट र पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा म्याद सकिएका खाद्य सामाग्रीहरु भेटिएका हुन् ।
अनामनगरमा रहेको बिगमार्टमा अनुगममनका क्रममा केही उपभोग्य सामाग्रीहरुको म्याद गुज्रिएको भेटिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
त्यस्तै बिगमार्टमा व्यवसायी दर्ता प्रमाणपत्र नविकरण नगरेको पाइएकोले ५० हजार जरिवाना गरेको र सात दिनभित्र बाणिज्य बिभागमा सम्पर्क राख्न निर्देशन दिएको उनले बताए ।
पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा पनि म्याद गुज्रिएका सामाग्री फेला परेको र व्यवसायी दर्ता प्रमाणपत्र नवीकरण नगरेको पाइएकोले रु ५० हजार जरिवाना गरिएको पौडेलले बताए ।
यसअघि संयुक्त अनुगमन टोलीले कलंकीस्थित भाटभटेनीमा अनुगमन गर्दा म्याद गुज्रिएको सामाग्री फेला पारेपछि कारवाही गरेको थियो । उपभोक्ता संरक्षण ऐन अनुसार उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइए आगामी दिनमा कडा कारवाही गर्ने प्रशासन कार्यालयले जनाएको छ ।












