रौतहट । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले देशमा सुशासन नरहेको ठोकुवा गरेका छन् । रौतहटको मौलापुरमा सुशासन पार्टी जिल्ला समितिद्वारा आयोजित सभालाई सोमवार सम्बोधन गर्दै उनले यस्तो ठोकुवा गरेका हुन् ।

सभाका प्रमुख अतिथि खरेलले भने, “म तत्कालिन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु, यदि साँच्चिकै देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो ।” हिन्दू संघ वीरगञ्जका अध्यक्ष काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु साहको संलग्नता रहेको दोहोर्याउँदै उनले हत्यारा भ्रष्टाचारीलाई सजाय दिलाउन र देशमा सुशासन कायम गराउन नेपाल सुशासन पार्टी स्थापना भएको दाबी गरे ।
पूर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको अध्यक्षतामा भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिका प्रमुखका प्रत्यासी आर. सी. यादव, जिल्ला अध्यक्ष रञ्जितकुमार पटेलसहितका वक्ताले मौलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार रुपमा माग गरे ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी सुशासन पार्टी प्रवेश गर्नेलाई केन्द्रीय अध्यक्ष खरेलले फूलको माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए ।












