काठमाडौं । संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ पहिलो साता कम्पनी रजिष्टारमा ५ बर्षदेखि कार्यरत उपसचिव तुल्सीराम गैरेको सरुवा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा गरेकोमा उनी २०७८ चैत २१ गतेसम्म हाजिर हुन गएका छैनन् ।

कम्पनी रजिष्टार कार्यालयमा सेवाग्राहीलाई दुःख दिएर बिचौलियाको मात्रै काम गरी अकूत सम्पत्ति कमाएर विभिन्न ब्यक्तिका नाममा सेयर खरिददेखि जग्गा खरिदसम्म गरेका गैरेले निजामती सेवा ऐन र नियमलाई ठाडै चुनौती दिएर खटाएको ठाउँमा गएका छैनन् । उनलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले संरक्षण गरेका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले २०७८ फागुन २७ गते उपसचिव गैरेलाई तुरुन्त रमाना दिनु भनेर दिएको निर्देशन पनि सचिव पोखरेलले अवज्ञा गरेका छन् । उनले सतर्कता केन्द्रको पत्र अनुसार रमाना दिनू भनेर २०७८ चैत २ गते कम्पनी रजिष्टार कार्यालयमा पत्र पठाए पनि गैरे चैत २१ सम्म पनि कम्पनी रजिष्टार कार्यालयमा ढलीमली गरी बसेका छन् ।
कम्पनी रजिष्टारमा भ्रष्टाचारका क्रोनिकको संज्ञा पाएका उपसचिव गैरेलाई सचिव पोखरेलले रमाना गराई जानकारी दिनु भनेर पत्र पठाएको २० दिन बितिसकेको छ । सचिव पोखरेलले पत्र पठाउँदा कम्पनीको निमित्त रजिष्टार उनै गैरे थिए ।
आफैंले आफैलाई रमाना दिने सवाल नै नभए पनि सचिव पोखरेलले सतर्कता केन्द्रको आँखामा छारो हाल्न पत्र पठाएको गैरै रमाना नभएबाटै छर्लङ्ग भएको छ । सतर्कता केन्द्रले दशकदेखि कम्पनी रजिष्टार कार्यालयमा कार्यरत गैरेलाई रमाना दिनका लागि उद्योग मन्त्रालयका सचिव पोखरेललाई निर्देशन दिएको थियो ।












