
काठमाडौं । गठबन्धनमा आवद्ध राजनीतिक दलहरुबीचको सहमतिमा प्रभाव पर्ने खतरा देखेपछि नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तय भएका उम्मेदवारको नाम सार्वजनिक नगर्न मातहतका समितिहरुलाई सर्कुलर गरेको छ ।
कांग्रेसले वडाध्यक्ष र खुला वडा सदस्यका लागि उम्मेदवारहरूको नाम सिफारिस गरिसकेको छ । चैत २१ गते वडाध्यक्ष र वडा सदस्यको नाम पार्टीको माथिल्लो तह पालिकास्तरका कार्यसमितिमा तल्ला समितिहरुले पठाइसकेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उम्मेदवारको नाम टुंगो लागेको भए पनि केही दिन पर्खन आग्रह गरिएको जानकारी दिए । मुख्यसचिव पौडेलका अनुसार केन्द्रीय कार्यालयले उम्मेदवार सार्वजनिक गर्ने दिन तोक्नेछ।
आज विहान सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
पौडेल नेतृत्वको समितिले आवश्यक तयार गरेर मात्र गठबन्धनमा आवद्ध दलहरुले सहमतिका आधारमा उम्मेदवारको नाम सार्वजनिक गर्ने गठबन्धनमा सहमति भएको छ ।












