काठमाडौं । कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषकतत्वको अवस्था र कृषि उत्पदकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहद् छलफल गरी उचित निष्कर्ष निकाल्ने उद्देश्यका साथ राजधानीमा तीन दिने गोष्ठी शुरु भएको छ ।

कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा आजदेखि सुरु भएको गोष्ठी शुरु भएको हो । गोष्ठीमा कृषिको आधुनिकीकरणका विविध विषयमा छलफल हुनेछ ।
तीन दिनसम्म जारी रहने उक्त कार्यक्रमको उद्घघाटन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै सचिव शर्माले गोष्ठीले नेपालको कृषि क्षेत्रलाई प्रवर्धन गर्न कोशेढुङा बन्ने विश्वास व्यक्त गरे । उनले उत्पादनशिल कृषि क्षेत्रको विकासबाट नै देशले समृद्धी हासिल गर्ने बताए ।
उद्घाटन सत्रमा साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले गोष्ठी कार्यक्रमले देशको कृषि क्षेत्रको उत्थानमा उल्लेख्य भूमिका खेल्ने दाबी गरिन् । उनले कृषि सामाग्री आपुर्ती र अनुदान संयन्त्रको नीतिगत एवम् व्यवस्थापनगत प्रबन्धलाई अझ सहज र सरल बनाउनुपर्ने बताइन् ।
कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले नेपाल र भारतका सरोकारवाला सहभागी यस गोष्ठीले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकी निरु दाहाल पाण्डेलेले उत्पादकत्व बढाउन रसायनको प्रयोगबारे कृषकहरुमा सचेतना अभिबृद्धि गर्न जरुरी रहेको बताइन् ।
कार्यक्रममा इण्डियन पोटास लिमिटेडका महाप्रबन्धक निरज शर्माले लिमिटेडले उच्च प्रविधि प्रयोग गरि गुणस्तरिय मल उत्पादन गर्दै आएको जानकारी दिए ।
उक्त गोष्ठीमा उन्नत जातका बीउबिजन, मलखाद, कृषि औजार तथा कृषि अनुदानको प्रभावकारिता वृद्धिका लागि आवश्यक सुझाव प्राप्त हुनेछ । कृषिजन्य उत्पादनको अन्तरराष्ट्रिय व्यापारका बारेमा पनि गोष्ठीमा छलफल हुनेछ ।












