
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज भृकुटीमण्डपमा जनसभा गर्दैछ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे जानकारी दिन सभा गर्न लागेको हो ।
उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ ।
जनताका चाहनाअनुरुप समाजवादी यात्रालाई अगाडि बढाउन पार्टी स्थापनापछि देशभर भएका संगठन निर्माण तथा विस्तारको अभियानमा जुटेको सो पार्टीले जनाएको छ । एकीकृत समाजवादीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौँमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको छ ।
जिल्लाअन्तर्गतका सबै सङ्घीय, प्रदेश, महानगर, नगर, गाउँ, वडा तथा प्रायः सबै टोलमा कमिटी निर्माण भइसकेका छन् ।
पार्टीअन्तर्गतका युवा, महिला, विद्यार्थी मजदुर, पेशागत सङ्गठनलगायत सबै जनसङ्गठनका वडा तहसम्म सङ्गठनलाई विस्तार गरिएको छ ।












