Logo
Logo

अघिल्लो निर्वाचनको मतका आधारमा सिट बाँडफाँट हुन्छ : माधव नेपाल


1.4k
Shares

पर्वत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् ।

समाजवादी प्रेस संगठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताए । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने अध्यक्ष नेपालको भनाइ छ ।

एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने उनको दावी छ । अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुंग्याउने भन्ने तरिकाका बारेमा छलफल भइरहेको नेता नेपालले बताए । उनले उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गरे ।

“गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ”, अध्यक्ष नेपालले भने, “उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ, ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ ।” नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दल बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्