काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी तय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोडालिटी तय गरेको हो ।
बैठकले तालमेलको मोडालिटी तय गरे पनि केही निर्णयहरु केन्द्रीय संयन्त्रमा रहने निर्णय गरेको छ । बैठकले महानगरपालिका, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सिट बाँडफाँटको आवश्यक निर्णय गरी बैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी बैशाख ५ गतेभित्र केन्द्रलाई पठाउनुपर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्यहरुको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले बैशाख ३ गतेभित्र टुंगो लगाउनुपर्ने निर्णय गरेको संचारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
बैठकले प्रदेश र जिल्लास्तरमा बन्ने गठबन्धनको संयन्त्रबारे पनि मापदण्ड तय गरेको छ । जसअनुसार प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २-२ जना प्रतिनिधि रहनेछन् । प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ–आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्नसक्ने छन् । र, सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहको सभापतिले गर्ने गठबन्धन बैठकले निर्णय गरेको छ ।
सिट बाँडफाँटका लागि गठबन्धनले तय गरेको ७ आधार-
१) २०७४ को स्थानिय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेको जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने ।
२) २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त गरेको मतको मतभार ।
३) २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी प्राप्त गरेको नभएता पनि स्थानीय तहमा उपस्थिति रही यथासक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।
४) २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा गठबन्धन भित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसको साथै उक्त तहमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतभारलाई आधार बनाउने ।
५) नेकपा एकीकृत समाजवादी २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदानम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भए बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन् गर्ने ।
६) गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरित्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।
७) गठबन्धनभित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने ।














