काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिकका लागि हितकर नभएको बताएका छन् ।
नयाँ वर्षको अवसरमा बिहीबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गठबन्धन र तालमेल हितकर नभएपनि आफूले पार्टीको निर्णय मानेको बताए ।

उनले संसदीय व्यवस्थामा दलबीच गठबन्धन हुनसक्ने भएपनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने दावी गरे । । उनले गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहरुलाई पनि राम्रो नगर्ने बताए ।
महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताए । स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिलेमात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने उनको भनाइ छ ।
महामन्त्री थापाले भने, ‘स्थानीयस्तरमा पार्टीबीच कुरा मिले तालमेल हुन्छ । माथिबाट थोपरेर हुँदैन । त्यसलाई कसैले मान्दा पनि मान्दैन ।’ उनले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौं भन्दा हस्तक्षेप गर्न नुहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने बताए ।
‘स्थानीय चुनावमा पनि स्थानीय साथीहरूले म कोसँग मिल्छु या मिल्दिन, मेरो मतदाताले के भन्छ भन्ने कुराको निर्णय गर्न पाएन भने र माथिबाट थोपर्दा सबै बिग्रिन्छ’ उनले भने, ‘तालमेल गर्ने नगर्ने कुरा तलको कमिटीले निर्णय गर्ने हो ।’














