Logo
Logo

‘राजनीति विकृत होइन, केही व्यक्तिले राजनीति विकृत बनाए’


189
Shares

सामाजिक विभेदको विरुद्धमा अग्र पङ्क्तिमा आवाज उठाउँदै हुनुहुन्छ । विभेदको सम्बन्धमा नेपाली समाज कस्तो पाउनुभएको छ ?
सामाजिक न्यायको आधारमा हेर्ने हो भने, नेपाली समाज कहिल्यै पनि न्यायोचित समाज भएन । जुन परिवारमा हामी जन्मियौँ । जुन थर हामीलाई दिइयो । त्यो हामीले रोजेको होइन । थरकै कारण मैले कहिल्यै पनि समाजमा न्याय पाइन् । जातीय विभेद भयो । बाल्यकालमा धारामा पानी छुन नदिनेदेखि लिएर मन्दिर प्रवेश गर्न नपाएकोसम्म घटना छन् । विद्यालयमा पनि सरस्वती पूजा गर्न नदिने, गाग्रीमा राखिएको पानी सारेर खान पनि नपाउने अवस्था थियो । जतिसुकै राजनीति परिवर्तन भए पनि त्यसले हाम्रो मानसिकता परिवर्तन गर्न सकेन । २१औँ शताब्दीमा आइपुग्दा समय बदलियो तर हाम्रो सोच बदलिएन ।

दलित समुदाय जति सबैको कहानी यस्तै हो । यद्यपि, समाजमा सहिष्णुता थियो । छिमेकी दाजुभाइहरूले आफ्नै बहिनी जस्तो मान्नुहुन्थ्यो । जातभन्दा पर पनि साइनो हुन्थ्यो । पीडितहरूले धेरै पीडा भोगेर पनि समाजमा सद्भाव कायम भएको हो जस्तो लाग्छ ।

अघिल्लो पुस्ताले विभेदका विरुद्धमा बोल्न सकेन । अन्याय, अत्याचार, शोषण र दमनका विरुद्धमा आवाज उठाउन सकेन । तर अहिले मानिसहरू बोल्न थालेका छन् । प्रविधि, सामाजिक सञ्जाल लगायतका कारण पनि आफ्नो कुरा आवाज राख्न सजिलो भएको छ । मानिसहरूले आफूमाथि भएको विभेदको बारेमा बोल्दै गर्दा कतिपयलाई यी कुराहरू अराजकता लाग्न पनि थालेको छ । शान्त तलाउमा ढुंगा हानेजस्तो भएको छ समाज । आजका दिनसम्म पनि नेपालीले यस्तो पीडा भोग्नु भनेको अमानवीय हो । मानिसमा आएको चेतनाले यस्ता कुरीतिहरू हट्दै जाने आशा गर्न सकिन्छ, तर त्यसका लागि आवाज उठाउन छाड्नु हुन्न ।

प्रहरी हिरासतमा शम्भु सदाको निधन भएकोदेखि ३ वर्षीय बालिकाको बलात्कारको घटनाले समाजलाई कता डो¥याउँदै छ भन्ने लाग्छ ?
समाजमा फैलिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा यस्ता घटनाहरू भइरहेका छन् । पछिल्लो समय जेनजी आन्दोलनमा भएको हत्या, हिंसामा संलग्नहरूमाथि कारबाही भएन । कतिले त्यो आन्दोलनबाट फाइदा लिए । तर अराजकता मच्चाउनेहरूलाई कानूनी सजाय भयो कि भएन ? भन्ने मुख्य कुरा हो । कारबाही नहुँदा जे गरेपनि हुँदो रहेछ भन्ने आपराधिक मानसिकता समाजमा व्याप्त हुँदै गइरहेको छ ।
यस्ता घटना सुन्न र हेर्नुपर्दा हाम्रो समाजमा मानवीयता नै हराएको जस्तो लाग्यो । गृहमन्त्रीले बलात्कार पीडित बालिकाको बुबाआमालाई ल्याएर खाना खुवाएको ‘लाइभ’ गरिदिनुभयो । जबकी छोरी मरेको पीडा थियो । न्यायको भोक थियो । सरकार त्यो कुरामा संवेदनशील देखिएन भने समाजका अरू मानिसहरूबाट यस्ता कुरामा संवेदनशीलताको अपेक्षा राख्ने कुरा भएन ।

रसुवा भोटेकोशी बाढीमा हजारौँको ज्यान गयो । यो बेलामा समाजले सहयोगको अपेक्षा राख्छ । यस्तो बेलामा पनि लासलाई लौरोले कोट्याएर गहना निकालेको देखियो । अति नै असंवेदनशील भयो हाम्रो समाज । हामी मानवियतामा कति टिक्न सक्यौँ भन्ने गहिरो प्रश्न छ । राजनीतिक परिवर्तनले यस्ता कुराहरूलाई अन्त्य गर्न सक्नुपथ्र्यो तर जतिसुकै राजनीतिक परिवर्तन भए पनि हाम्रो चेतनास्तर कति कमजोर हुँदै गएको रहेछ भन्ने कुरा यी घटनाले देखाउँछ ।

शम्भु सदा, नवराज विकको हत्याको विषय पनि यही समाजकै पाटो हो । मरेको मान्छे र दलितमा केही फरक देखेन राज्यले । समाजमा न्याय मर्दै गइरहेको छ । सामाजिक सद्भाव र सामाजिक न्यायको विषय कमजोर हुँदै गइरहेको छ । तर न्याय म¥यो भन्दैमा न्याय माग्नै छोड्नु भएन । न्याय भिख होइन, जबसम्म न्याय पाइँदैन, तबसम्म लडिरहनु पर्छ । विगतमा सयौँ सहिदको बलिदानीले स्थापित लोकतन्त्र भनेकै कानुनी राज्य हो, त्यसका लागि निरन्तर संघर्ष गर्नु हरेक नागरिकको कर्तव्य हो ।

तपाईँले ‘समाजमा विभेदको हजारौँ पाइला’ भनेर मेची–महाकाली पदयात्रा गर्नुभयो ? नेपाली समाजमा विभेदको अवस्था कस्तो पाउनुभयो ?
पश्चिममा दलितले गाइबस्तुलाई हेरेमा दूध दिँदैन भन्ने मिथ रहेछ । पूर्वतर्फ दलित भनेर देखिनेगरी विभेद नगर्ने तर खाना खाने कार्यक्रम छ भने आज व्रत बसेको छु भनेर नखाने, निर्णय प्रक्रियामा दलित समुदायलाई नबोलाउने प्रवृत्ति देखियो । दलित समुदायसँग प्रेम गर्ने तर विवाह नगर्ने भनेर खुलेआम भनेको पनि पाइयो । दलित समुदायको घरमा गएर खाइदिन्छौँ तर आफ्नो घरमा ल्याउँदैनौँ भन्नुभयो कतिपयले । दलित समुदाय मान्छे भएर जन्मिन्छ तर जन्मिसकेपछि नाम, जात, तह, तप्काको परिचयले मानिसलाई दलित बनाइदिन्छ । यो सामाजिक विभेद हो ।

संघीय राजधानी काठमाडौँमा जात ढाँटेर कोठा खोज्नुपर्ने, बस्नुपर्ने स्थिति छ । यहाँ त झनै शिक्षित मानिसहरू हुनुपर्ने तर झनै पुरातनवादी मानसिकता गाडिएर बसेको छ । देशभर विभेदको अवस्था कायमै छ ।

रसुवा भोटेकोशी बाढीपछि तपाईँले नेपालले जलवायु न्याय पाउनुपर्छ भन्ने विषय सार्वजनिक रूपमा उठाउनुभएको थियो । हामीले जलवायु न्याय कसरी पाउँछौ भन्ने लाग्छ ?
यो जटिल प्रश्न हो । हामीले न्याय पाउँछौ कि पाउँदैनौ भन्ने अनिश्चित छ । म जलवायु सम्बन्धी विज्ञ होइन । तर यो विषयमा अध्ययन गर्दै छु । विश्व राजनीति र भूराजनीतिको कुरा गर्दा हरेक देशको नेपालसँग स्वार्थ रहेको पाउँछौँ । हामीले हरियाली जोगाइरहेका छौँ । विकसित देशहरूले औद्योगिकीकरण गरिरहेका छन् । नेपालका हिमालहरू पग्लिइरहेका छन् । ठुला राष्ट्रहरू र हाम्रा छिमेकी राष्ट्रहरूले गरेको कुकर्मको भोग हामीले चुकाउनु परिरहेको छ । कार्बन उत्सर्जनमा हाम्रो योगदान न्यून छ । तर त्यसको असर हामीले भोगिरहनु परेको छ । यसकारण हामीले नगरेको गल्तीको सजाय पाइरहेका कारण न्याय पाउनुपर्छ । यसका विषयमा अन्तर्राष्ट्रिय जगत्लाई झकझक्याउनु पर्छ । शक्ति राष्ट्रहरूलाई पनि हामीले हाम्रो एजेन्डामा सहमतिमा ल्याउन सक्नुपर्छ । जलवायु परिवर्तन हाम्रो मात्र समस्या होइन, यो विश्वव्यापी समस्या भएकोले यसको नियन्त्रणका लागि सिङ्गो विश्व एक ठाउँ आउनै पर्छ, नभए यसले भोलिका दिनमा मानवीय संकट निम्त्याउँछ ।

नेपालमा जलवायु र विपद् कूटनीति आवश्यक छ, छैन जस्तो लाग्छ ?
हामीलाई थाहा छ कि हाम्रो देशका माथिल्लो भुभागमा हिमाल छन् । जुनसुकै बेला हिमपहिरो, हिम सुनामी आउन सक्ने खतरा छ भन्ने हामीलाई थाहा छ भने खतराको सूचक राख्न सक्नुपथ्र्यो । नेपालमा आउने हिमपहिरोको असर छिमेकी मुलुकहरू सम्म पनि पर्छ । त्यसैले यस विषयमा त्रिदेशीय साझेदारी आवश्यक पर्छ । अब हामी केवल आर्थिक सहयोग माग गरेर अल्झेर बस्ने मात्रै होइन । जलवायु परिवर्तनका कारण योभन्दा ठुलो विपद् आइपर्न सक्छ । त्यसतर्फ सतर्क हुँदै सहकार्यमा विपद् व्यवस्थापनका लागि काम गर्नुपर्छ । जलवायु न्याय माग्नुपर्छ । सधैँभरी हामीले अन्याय सहने कुरा हुँदैन । समाधानतर्फ पनि जानुपर्छ ।

अहिले नेपालको लोकतन्त्रको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
नेपालमा मात्रै होइन लोकतन्त्र संसारमै धरापमा छ । नेपालमा लोकतन्त्रको अवस्था बिग्रिएको धेरै समय भइसक्यो । जेनजी आन्दोलन अघिसम्म हामी निर्धक्कसँग लेखि, बोलिरहेका थियौँ । अहिले बोलेकै, लेखेकै आधारमा धेरै धम्की आउने, पक्राउ गर्ने र जेल हाल्ने स्थिति छ । बोलेकै आधारमा धेरै साइबर ब्युरोमा मुद्दा खेपिरहेका छन् । जेनजी आन्दोलन भयो त्यसपछि नयाँ अनुहारहरू राजनीतिको मूलधारमा आउनुभयो । तर यो आन्दोलन हो कि होइन भन्नेमा पनि प्रश्न छ । चुनावबाटै नयाँ शक्ति उदाएको छ । अवश्य पनि नयाँ अनुहार आउँदा खुसी हुनुपर्ने अवस्था चाहिँ हो । तर पुरानालाई ‘ग्रेसफुल्ली’ चुनाव गरेर हटाइएको होइन । पिटेर, लखेटेर हटाइएको छ । त्यसो हुँदै गर्दा, बुढाहरुले नयाँ युवा पुस्ताको भावनालाई नबुझेको कुरा पनि म आत्मसात् गर्छु । तर त्यसको परिणाम यति धेरै भयानक र अराजकता हुनुहुन्थेन । पुराना दलहरूले नयाँ युवा पुस्तालाई प्रवेश नगराएर गल्ती गरेका थिए । तर त्यसैको आधारमा अरू कोही आएर लोकतान्त्रिक मूल्य, मान्यतालाई कुल्चिएर अगाडि बढ्नुपर्छ भन्ने होइन ।

जेनजी आन्दोलन र भूराजनीतिलाई कसरी हेर्नुभएको छ ?
जेनजी आन्दोलनका विभिन्न स्वार्थहरू छन् । व्यक्ति संघ, संस्था देखि न्यायालयसम्म विभिन्न एलायन्स्हरु छन् । यो आन्दोलनपछि नेपाल खोक्रो रहेछ, नाम मात्रैको रहेछ भन्ने भान पनि भयो । भदौ २३ गते युवाहरू सामाजिक सञ्जाल बन्द गर्ने तत्कालीन सरकारको निर्णयको विरोधमा माइतीघरमा आन्दोलनमा उत्रिए । तर बानेश्वरसम्म पुगेर प्रहरीले तोकेको निषेधित क्षेत्र तोड्न उनीहरूलाई कसले उक्साए ? प्रहरीलाई गोली चलाउन आदेश कसले दियो ? प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले त आदेश दिएको छैनौँ भनिरहेका छन् । यो विरोधाभासपूर्ण कुरा भयो । छानबिन समितिको रिपोर्ट अहिलेसम्म किन सार्वजनिक भएन ? भएको भए त्यसमाथि बहस पैरवी हुन्थ्यो । घटनाको वास्तविकता बाहिर आउँथ्यो । तर सरकारले प्रतिवेदन नै ‘गोप्य’ राखेर घटनालाई थप रहस्यमय बनाउने काम गरेको छ ।

भदौ २४ गतेलाई भदौ २३ गतेकै नजरले हेर्न मिल्दैन । स्वाभाविक रूपमा २३ गते युवाहरूमाथि सरकारले गोली बर्साएको आक्रोश त होला । तर आक्रोशमा देश जलाउन मिल्दैन । नेपालको सम्पूर्ण इतिहास जलाइयो । जेनजीले त्यस्तो गरेको हो भने जिम्मा लिनुप¥यो । होइन भने, कसले गरेको हो, त्यसलाई सरकारले कारबाही गर्नुपर्छ । भदौ २३ गते र भदौ २४ गते दुवै दिनको घटनाको सत्यतथ्य छानबिन गरेर न्याय खोज्नुपर्छ । भदौ २३ र २४ को तथ्यहरु जबसम्म बाहिर आउँदैनन् तबसम्म फेरि अर्को आन्दोलन हुँदैन भन्ने हुँदैन । भोलि आफैँले भित्र्याएको संस्कृतिले आफैँलाई अप्ठेरो पर्न सक्छ ।

आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बन्यो । डिस्कर्डमा ‘हामीले मात्रै रोजेको प्रधानमन्त्री होइन, अन्तर्राष्ट्रिय शक्तिले पनि चुनेको प्रधानमन्त्री हो’ भन्ने प्रचारित थियो । यद्यपि, चुनाव सम्पन्न भयो र देशले एउटा लय समात्यो । तर, दुर्भाग्य निर्वाचन गराउने नाममा भदौ २३ र २४ गतेको घटनामा आरोपितहरूमाथि कारबाही भएन । यो सहिदहरूमाथिको ठूलो अन्याय हो । सहिदको आमाले अहिले पनि छोरा गुमाउनुको पीडा सदनमा पोखिरहनुभएको छ, तर सरकार मौनता साँधिरहेको छ ।

तपाई राजनीतिमा पनि प्रवेश गर्नुभयो । सामाजिक अभियानबाट राजनीतिमा आउनुको कारण के ?
राजनीति ‘हेड अफ द नेशन’ हो । जहाँबाट सबै कुराहरू परिचालित हुन्छ । सामाजिक अभियन्ता भएर सडकमा बसेर राज्यलाई बारम्बार खबरदारी गर्ने कुराहरू हुन्छन् । अभियन्ताको रूपमा निश्चित कुराहरूलाई मात्र परिवर्तन गर्न सकिने भयो । तर, राजनीतिमा त्यही कुरालाई नीति, नियममा ल्याउन सकियो भने लाखौँ लाखले लाभ लिन पाउने भए । सडकमा बोलेर मात्रै अल्झिरहनु भन्दा राजनीतिमा आएर समाज र देशलाई परिवर्तन गर्नुपर्छ भन्ने महशुस भयो र राजनीतिमा आएँ । म प्रजातन्त्रलाई विश्वास गर्छु । प्रजातान्त्रिक हुँ । त्यसैले कांग्रेससँग आबद्ध भएको हुँ ।

नेपाली कांग्रेसभित्र भएको विवादलाई कसरी हेर्नुभएको छ ?
हाम्रो चाहाना गगन थापा र शेरबहादुर देउवा मिल्नुपर्छ भन्ने थियो । तर सम्भव भएन । कांग्रेस फुटले देशलाई ठुलो आघात पुग्छ । यो कुरा शीर्ष नेताहरूले बुझ्नुपर्छ । राजनीतिमा ‘ग्रेसफुल्ली एक्जिट’ हुनुपर्छ । तर पद छोड्न नचाहने नेपाली राजनीतिको प्रवृत्ति नेपाली काँग्रेसमा झनै बढी भयो । जेनजी आन्दोलनपछि कांग्रेस झनै एकतावद्ध भएर लाग्नुपथ्र्यो, तत्कालीन सभापति शेरबहादुर देउवामाथि आक्रमण पनि भयो । उहाँप्रति कसैले सहानुभुति देखाएको पनि सुनिएन । त्यसबेलै काँग्रेसमा पुस्तान्तरण गर्नुपर्छ भनेर गगन थापालाई नेतृत्व दिनुपर्छ भन्ने पनि हाम्रो कुरा हो । सर्वोच्च अदालतमा रहेको विवाद निरूपण होला । तर पुस्तान्तरण गरेर देश बनाउनेतर्फ लाग्नुपर्छ । गगन थापाले यो कुरा बुझेर काँग्रेसलाई नयाँ जीवन दिने हिम्मत गर्नुभएको छ । नयाँ पुस्ताबिना कुनै पनि राजनीतिक दल अगाडि बढ्न सक्दैन ।

अहिलेसम्म राजनीतिक अनुभव के रह्यो ?
संसदमा प्रतिनिधित्वको निम्ति नेताहरुकोमा धाउनु पर्ने अवस्था देखियो । चुनाव महंगो भएको छ । चुनाव लड्नै सकिदैन । समानुपातिक प्रतिनिधित्वका लागि पनि नेताहरूको ढोका–ढोकामा नमस्कार गर्दै चाकरी गरेर हिँड्नुपर्ने परिस्थिति छ । हामी त्यसो गर्न सक्दैनौँ ।

राजनीतिमा सुधारका लागि थोरै पैसामा चुनाव हुने व्यवस्था गरिनुपर्छ । आज राजनीतिक क्षेत्र नराम्रो भन्ने भाष्य बनाइएको छ । त्यस्तो गलत भाष्य बनाउनु हुँदैन । केही व्यक्तिको कारण राजनीति विकृत भएको हुनसक्छ तर राजनीति आफैँमा विकृत कुरा होइन । अहिले नयाँ अनुहारहरू देश बनाउन भनेर आउनुभएको छ । देशलाई सुन्दर रूपमा अगाडि बढाउनुहोस् भन्न चाहन्छु ।
(समाज, लोकतन्त्र र राजनीतिको विषयमा केन्द्रित भएर दृष्टि साप्ताहिकका लागि हिरेन्द्र शाहीले लेखक, मानवअधिकारकर्मी तथा सामाजिक अभियन्ता रिता परियारसँग गरेको कुराकानी ।)

प्रतिक्रिया दिनुहोस्