तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, “एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा संक्रमितको संख्या शून्य अवस्थामा छ ।
अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।” “अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरेका छौँ” वलीले भने, “कुनै समय शय्या भरिभराउ हुन्थे । शय्या पाउन हानाथाप नै हुन्थ्यो तर, अहिले शून्य छ ।” कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ छ । यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो । असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो । अस्पताल ६० शय्याकोे छ ।
यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन् । कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ । “ कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोनाका बिरामीलाई नै राख्छौँ”, वलीले भने, “नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ ।”














