काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन् ।
टाउकोमा चोट लागेपछि उनलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो । मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो । टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन् । मन्त्री रेग्मीलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधवार वीर अस्पताल भर्ना गरिएको उनकी बहिनी छलीकुमारी शर्माले जानकारी दिइन् ।
वीर अस्पतालमा एमआरआई गरेपछि उनको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ । जमेको रगत पातलो बनाउन उपचार अगाडि बढाइएको अस्पतालले जनाएको छ ।














