सर्लाही । नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, ‘मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।’

नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ । उनले आगामी दिनमा आफ्नो पार्टीले मधेसी जनताका समस्या सम्बोधन गर्ने बाचासमेत गरे ।
ओलीले मधेसका मसिहा भनिनेहरु लाजै पचाएर सरकारमा बसिरहेको आरोप लगाएका छन् । उनले भने, ‘मधेसका मसिहाहरुलाई थोरै पनि लाज छैन, नागरिकता विधेयक पास नहुँदा सरकारबाट बाहिरिनु पर्ने हो, तर उनीहरु यसो गर्न सक्दैनन्, उनीहरु जनताका मुद्दाभन्दा सत्तालाई बढी प्राथमिकता राख्छन् ।’
जसपामा रहेको कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवलगायतलाई पार्टी प्रवेश गराएका ओलीले विस्तारै मधेसका नागरिकहरु मधेसका मसिहाहरुबाट मुक्त भइरहेको बताए । उनले आफूलाई मधेसको मसिहा भन्ने मधेस केन्द्रित दलहरुले मधेसको विकासमा अवरोध गरिरहेको समेत आरोप लगाए ।














