काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बाँटफाँट गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले कुन तहमा किन दाबी गर्न लागेको हो भन्ने कुरा स्पष्टसँग राख्नुपर्ने बताए । जुन पार्टीको जति शक्ति हो त्यसको आधारमा दाबी गर्नुपर्ने नेपालको भनाइ थियो ।

सत्तारुढ गठबन्धनका दलहरूबीच एमालेले २०७४ सालमा जितेका स्थानीय तहमा पहिलो दाबी गर्ने अधिकार एकीकृत समाजवादीको भएको उनले बताए । उनले एमालेका कार्यकर्ताहरूलाई जाने ठाउँ एकीकृत समाजवादी रहेको उनको दाबी थियो ।
उनले भने ‘एमाले विजयी भएका स्थानीय तहमा पहिलो हक एकीकृत समाजवादीको लाग्छ । अरु पार्टीले चाहेर पनि एमालेका मान्छेलाई तान्न सक्दैनन् ।’ उनले एमालेभित्र अन्यायमा परेका कार्यकर्ताहरूले चुनावपछि निर्णय लिन्छौं भनेर सन्देश पठाइरहेको पनि दाबी गरे ।
नेपालले गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा जोसँग सहमति हुन्छ त्यो पार्टीसँग चुनावी तालमेल गर्ने र कसैसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी कार्यकर्ताहरूलाई अगाडि बढ्न निर्देशन दिए । ‘कुनै पार्टीसँग सहमति हुन सकेन भने जोसँग सहमति हुन्छ त्यो दलसँग चुनावमा जानेछौं । एक्लै जित्छौं लागेको छ कसैलाई भने एक्लै पनि उभिन सक्छ । तर जित सुनिश्चित हुनुपर्छ,’ उनले भने ।
पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले आफ्नो शक्तिका आधारमा दाबी गरेको पनि नेपालको भनाइ थियो । एकीकृत समाजवादीको केही अर्थ छैन भनेको प्रति उनले असन्तुष्टि व्यक्त गरेका थिए ।
‘पोखरा महानगरपालिकामा मात्रै हामीसँग झन्डै झन्डै पार्टी सदस्य ८ हजार छन् । ८ हजार पार्टी सदस्य हुनु भनेको सजिलो कुरा हो रु भोटर होइन कार्यकर्ता र क्रियाशील सदस्यहरू ८ हजार छन् । जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्छ,’उनले भने ।
एउटा पालिकामा १ सय ३४ मत पाएको दलले अहिले पालिका प्रमुखको दाबी गरिरहेको भन्दै उनले एकीकृत समाजवादी त्योभन्दा धेरै ठूलो शक्ति रहेको पनि बताए ।














