Logo
Logo

सम्पादक नेपाललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार


315
Shares

नुवाकोट । ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार– २०७८’ राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णु नेपाल र ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार– २०७८’ हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँलाई अर्पण गरिएको छ । सम्पादक समाजद्वारा आफ्ना संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापित ती पुरस्कारको राशिको क्रमशः रु. १५ हजार १ र रु. २५ हजार १ सहित सम्मानपत्र रहेको छ ।

शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा समाज नेपालले निर्माण गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ शुभारम्भका अवसरमा शनिवार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ती पुरस्कार पत्रकारद्वयलाई प्रदान गरे । समारोहमा उनले पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मल्ल के सुन्दर र कृष्णा ताम्राकारलाई दोसल्ला ओढाई सम्मान गरे । विसं २०६२ देखि समाजले हरेक वर्ष ती पुरस्कार र सम्मान प्रदान गर्दै आइरहेको छ ।

सोही अवसरमा कांग्रेसका प्रवक्ता डा. महतले अध्ययन केन्द्रको हातामा निर्माण गरिएको समाजका संस्थापक अध्यक्ष वियोगीको अर्ध कदको सालिक अनावरण गर्नुका साथै माल्र्यापणसमेत गरे । सो समारोहलाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता डा. महतले नागरिकले पाँच–पाँच वर्षमा मतदान गर्नेमात्र नभई निर्वाचित जनप्रतिनिधिका गतिविधिबारेमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले भने, “लोकतन्त्रलाई संस्थागत गर्न जीवन पद्धतिमै लोकतान्त्रिक मूल्य, मान्यता उतार्नुपर्ने पर्छ ।” संविधानमा धेरै कुरा लेखे पनि कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै उनले क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले समेत प्रशिक्षण एवं अध्ययन केन्द्र निर्माण गर्न नसकेका बेला सम्पादक समाजले उदाहरणीय काम गरेको बताए । उनले भने, “पत्रकारिता क्षेत्रको अभिभावक बन्न राज्यले छिटोभन्दा छिटो आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नुपर्छ । प्रशिक्षित पत्रकारले नै नागरिकको अपेक्षाअनुसारको पत्रकारिता गर्न सक्दछन् ।” समाजका महासचिव श्याम डोटेलले नगरकोटभन्दा ५ सय फिट उचाइमा रहेको सुइरेचौरमा निर्माण भएको ‘वियोगी पत्रकारिताा अध्ययन केन्द्र’मा २५ जनासम्म पत्रकारलाई आवासीय प्रशिक्षण दिन सकिने जानकारी दिए ।

उनले समाजको भवन निर्माणमा अथक योगदान दिएका वियोगीका ज्येष्ठ सुपुत्र किरण वैद्यलगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अध्ययन केन्द्र सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । करिब डेढ रोपनी जग्गामा बनेको सो भवन तीन तलाको छ । सम्मानित पत्रकार मल्ल र बानियाँले सञ्चारकर्मीले हिंसा र निरंकुशतालाई साथ दिन नहुने उल्लेख गर्दै पत्रकारितामा व्यापारीकरण बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले अध्ययन केन्द्र भवनको रेखदेख र प्रचार–प्रसारका लागि स्थानीय सरकार र स्थानीय सञ्चारकर्मीको पनि सहयोग रहनुपर्नेमा जोड दिए ।

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले सातवटा हिमाल देखिने सुइरेचौर, चिसापानीजस्ता पर्यटकीयस्थल रहेको गाउँपालिकामा पर्यटन प्रवर्द्धनका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका कारण प्रदेश र संघीय सरकारको पनि सहयोग आवश्यक रहेको बताए । सातवटा हिमाल देखिने सुइरेचौर पुग्न ९ सय मिटर सडक निकुञ्ज भएर जानुपर्छ । जगत् चेकपोष्ट भएर यो सडक पार गर्ने आन्तरिक पर्यटकलाई पनि निकुञ्जले रु. ५ सयसम्म शुल्क लिने गरेकाले पर्यटन प्रवर्द्धनमा समस्या भएको उनको भनाइ थियो । कार्यक्रममा वियोगीका ज्येष्ठ सुपुत्र वैद्य नेपाली पत्रकारिताको थप उन्नयन तथा अध्ययनका लागि ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ ले सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसको सञ्चालनमा लागि थप सहयोग दिने जानकारीसमेत दिए ।

समाजका सदस्य माधव दुलालले पत्रकारिता प्रशिक्षणका लागि पहिलोपटक समाजले स्थापना गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ले व्यावसायिक पत्रकारिताको विकास तथा प्रवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गर्दै केन्द्र सञ्चालनमा राज्यले आगामी दिनमा ध्यान दिनुपर्ने बताए । इम्जा एशियाका अध्यक्ष टंक पन्त, समाजका वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधानलगायतले पत्रकारिताको संस्थागत विकासका लागि अध्ययन केन्द्रले काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्