काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५ सयले बढेर रु. एक लाख दुई हजार ५ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. एक लाख एक हजार ५ सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. पाँच ले बढेर रु. एक हजार ४ सय २० पुगेको महासंघले जनाएको छ ।
बजारमा सुनचाँदीको आयातमा बैंकहरुले एलसी नखोलेपछि यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीको माग बढ्ने हुँदा यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८५ डलर आसपास कारोबार भइरहेको छ ।












