काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले नभइ नहुने अडान नराखेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । भरतपुरमा ०७४ माओवादीले जितेकोले त्यहाँ सजिलो हुने कुरा राखेको उनले बताए । छ महानगरमध्ये माओवादीले कम्तिमा एक महानगर पाउनुपर्ने उनको भनाइ थियो ।
‘भरतपुर नभई भएन भनेको छैन । रेनु नभई भएन भन्ने अडान होइन, छ वटा महानगरमा एउटा माओवादीलाई पर्ला । काठमाडौं वा विराटनगर भएपनि हुन्छ’ उनले भने, ‘जहाँ सजिलो हुन्छ त्यही लिने भनेको हो, मोटामोटी सहमति पनि भएको छ । भरतपुर दिन मोटामोटी सहमति गठबन्धनमा छ । कांग्रेसका केही नेताले मानेका छैनन् तर औपचारिक निर्णय भएपछि यस्ता विरोधले तात्विक फरक पर्दैन ।’














