Logo
Logo

क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना पक्राउ


819
Shares

काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार र सोमबार तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

बिटक्वाइन, युएसडिटी सोलाना, इथेरियमलगायत विभिन्न करेन्सीको अवैध कारोबार गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा बिर्तामोड घर भई काठमाडौं महानगर-१६ सोह्रखुट्टेका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भई क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र बाफल बस्ने २७ वर्षीय राहुल चचान छन् ।

उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरिसकेका छन् । हाल उनीहरूमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको कार्यालयले जनाएको छ ।

अनुप मिश्रले सन् २०२१ देखि बाइनान्स अकाउन्ट प्रयोग गरी विभिन्न २० वटा क्रिप्टोकरेन्सी जम्मा गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले मात्रै ३५ करोड ४६ लाख ८३ हजार ६ सय ११ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । हाल भने उनको बाइनान्सको अकाउन्टमा १२ हजार ८३२ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको छ ।

दिपेश थापाले पनि सन् २०२१ मेदेखि बाइनान्सका दुइटा अकाउन्टमार्फत् ७ वटा क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ । उनले मात्रै २४ करोड ७९ लाख ५६ हजार ९१८ रुपैयाँ बराबरको कारोबार गरिसकेका छन् । उनको अकाउन्टमा हाल १ हजार ३९९.८० डलर बराबरको बिटक्वाइन देखिएको प्रहरीले जनाएको छ ।

यस्तै, राहुल चचानले करिब एक वर्षदेखि २० वटा क्रिप्टोकरेन्सीहरू जम्मा गरी छ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेका छन्। उनको अकाउन्टमा हाल ६५१ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्