Logo
Logo

प्लेयर बक्स तोडफोड गर्ने क्लबलाई ३ लाख जरिवाना


1.1k
Shares

काठमाडौं । ‘बी’ डिभिजनमा रहेको नयाँ बस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल हारेपछि प्लेयर बक्समा तोडफोड गरेको भन्दै उक्त क्लबलाई जरिवाना गरेको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले ‘बी’ डिभिजन लिग खेलमा अनुशासनहीन काम गरेकाले सो क्लबलाई जरिवाना गरिएको हो । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत गएको चैत २६ गते भएको खेलमा नयाँ बस्ती युवा क्लब मध्यपुर युथ एसोसिएशनसँग तीन–एक गोल अन्तरले पराजित भएको थियो । त्यसपछि उक्त क्लबले अभद्र व्यवहार गरेकाले कारबाही गरिएको एन्फाले जनाएको छ । त्यसबेला मध्यपुरसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए ।

यो जरिवानासँगै एन्फाले क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध लगाएको छ । अफिसियल श्रीबहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनै पनि फुटबल गतिविधिमा भाग लिन नपाउने गरी निलम्बन गरेको हो । एन्फाले क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्