एजेन्सी । श्रीलंकामा भएको सरकार विरोधी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
त्यसक्रममा प्रदर्शनकारीतर्फ ११ जना र प्रहरीतर्फ १० जना घाइते भएका छन् । उनीहरुलाई केगले अस्पतालमा भर्ना गरिएको जनाइएको छ । श्रीलंकाको रांबुक्काना सहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो । प्रहरी प्रवक्ता निहाल तल्डुवाले १५ घण्टासम्म प्रदर्शन गरिरहेकाहरुलाई हटाउन गोली चलाउन प्रहरी बाध्य भएको बीबीसीलाई बताए । उक्त घटनापछि रांबुक्काना सहरमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । श्रीलंकामा आर्थिक संकट चुलिएपछि जनता आक्रोशित छन् । उनीहरुले सरकारविरुद्धको प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन् । यसैक्रममा मंगलवार पनि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका थिए ।
मंगलवार रांबुक्काना, हिंगुराकगोडा, बड्डेगामा, डिगाना, गंपोला, रत्नापुर र तेल्देनियालगायतका स्थानमा विरोध प्रदर्शन भएको बीबीसीमा उल्लेख छ । यसैबीच, श्रीलंकाका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनाको अमेरिकाले निन्दा गरेको छ । श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुंगले ट्वीटर लेखेकी छन्, ‘प्रदर्शनकारी होउन् या प्रहरी उनीहरु विरुद्ध हुने कुनै पनि प्रकारको हिंसाको म निन्दा गर्दछु । म सबै पक्षलाई शान्ति कायम राख्न अपील गर्दछु ।’ घटनाको निष्पक्ष ढंगले अनुसन्धान आवश्यक रहेको भन्दै उनले जनताका जायज माग सम्बोधन हुनुपर्ने पनि बताएकी छन् ।











