एजेन्सी । पछिल्लो समय भारतमा बढेको कोरोना संक्रमणले चौथो लहरको संकेत गरेको छ । यसपटक बालबालिकामा संक्रमण दरले चिन्ता बढाएको छ ।
दिल्लीमा कोरोनाबाट अस्पताल भर्ना भएका बिरामीमध्ये २७ प्रतिशत बालबालिका रहेका एजेन्सीमा उल्लेख छ । दिल्लीको छेउमा रहेको नोएडा र गाजियाबादमा धेरै स्कुल जाने बच्चाहरू संक्रमित भएका छन् । दिल्लीमा हाल कूल ५१ जना कोरोना बिरामी अस्पताल भर्ना भएमध्ये १४ जना बालबालिका छन् । योसँगै देशमा ११ साताको गिरावटपछि पहिलो पटक कोरोना संक्रमित बढेका छन् । राजधानी दिल्ली, हरियाणा, यूपीमा पनि गत हप्ता मामिलाको तीव्र वृद्धिपछि देशमा फेरि नयाँ लहरको चर्चा सुरु भएको छ । सोही समयमा, नोएडामा १८ अप्रिलमा १०७ कोरोना केसहरू रिपोर्ट गरिएको थियो, जसमध्ये ३३ जना बालबालिकाहरू थिए । नोएडामा हालसम्म १ सय जना बालबालिका कोरोनाबाट संक्रमित भएका छन् ।
नोएडासँगै गाजियाबादका धेरै विद्यालयका बालबालिका पनि कोरोनाबाट संक्रमित भएका छन् । बालबालिकामा छिटो संक्रमण हुनुको कारणबारे एपिडेमोलोजिस्ट डा. चन्द्रकान्त लहरियाले भने, ‘बालबालिकामा कोरोना संक्रमण भएमा आत्तिनुपर्ने अवस्था छैन । विद्यालय बन्द हुँदा पनि बालबालिकामा कोरोना संक्रमण हुन्थ्यो । अहिले विद्यालय खुल्ने बित्तिकै केसहरु आउने क्रम बढेको छ ।’











