काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले आज शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा भएको उनहरूबीचको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको छ । भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटक आवागमनलाई थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
उनले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको बताउँदै गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।
जलविद्युत् विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भने, ‘नेपाल जलविद्युत् लगानीको महत्वपूर्ण क्षेत्र हो, इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु ।’ उहाँले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा राजदूत किभीले इस्टोनिया ‘साइबर’ सुरक्षामा सबल देश रहेको जानकारी दिँदै नेपालसँग सहकार्य गर्न सकिने बताउनुभयो । उनले ‘इ–कमर्स’ का विषयमा पनि स्टोनिया र नेपालबीच सहकार्य गर्न सकिने जनाउँदै त्यसका लागि सरकारी तवरमा छलफल आवश्यक रहेको बताए ।
नेपाल र स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सुमधुर सम्बन्ध रहँदै आएको छ ।














