पाल्पा । जिल्ला फुटबल संघ पाल्पाको अध्यक्षमा प्रणयविक्रम राणा विजयी भएका छन् । निर्वाचनमा उनी आफ्नो निकटतम् प्रतिद्वन्द्वी मनोहर थापालाई छ मतले पराजित गर्दै विजयी भएका हुन् ।
पन्ध्र मत रहेको जिल्ला फुटबल संघको उपाध्यक्षमा मनोजमान लिगल, प्रज्ज्वल उदय र कृष्ण सारु मगरले नौ–नौ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, महिला सदस्यमा युकी गाहा विजय भएकी छन् । अन्य सदस्यहरुमा अनिष श्रेष्ठ, दीपेन्द्र खनाल, कृष्णबहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृतबहादुर राना र सुजन थापा विजयी भएका छन् । सदस्यहरु सबैले नौ–नौ मत प्राप्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै खेलाडी उत्पादन, प्रतियोगिता आयोजनाका साथै खेलकुद सामग्री संकलनमा जोड दिने बताए ।
एन्फाका केन्द्रीय सह–महासचिव प्रकाश पंगेनीले दुई वर्ष कोभिड–१९ ले खेलकुदका गतिविधि सुस्ताए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बताए । त्यस्तै, पूर्वअध्यक्ष भीमसेन कार्कीले मणिमुकुन्द कपदेखि लिएर विभिन्न प्रतियोगिता आयोजना गरिएको बताए ।











