कैलाली । प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रंगशालामा हिजो भएको फाइनलमा एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिसले उपाधि जितेको हो ।
पुलिसका निर्मला विकले खेलको इन्जुरी समयमा गरेको गोल नै निर्णायक भयो । वनदेवी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विभागीयसहित ८ टोलीको सहभागिता थियो । पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । उनी फाइनलको प्लेयर अफ द म्याच पनि भइन् । उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा नेपाल पुलिस क्लबकी निर्मला विक सर्वोकृष्ट खेलाडी भइन् । उनले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । प्रतियोगिताका प्रायजसो विधामा पुलिसकै दबदबा रह्यो ।
पुलिसकी पूजा राना उत्कृष्ट रक्षक, उषानाथ उत्कृष्ट गोलरक्षक र सञ्जिव जोशी उत्कृष्ट प्रशिक्षक भए । एपीएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बू उत्कृष्ट मिडफिल्डर भइन् । उनीहरुले जनही १० हजार रुपैयाँसहित ट्रफी पाएका छन् । विजयी खेलाडीहरुलाई एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । वनदेवी युवा क्लबका अध्यक्ष सुशन जोशीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी थिए ।











