
काठमाडौं । हिमालय एअरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्क विस्तार गर्दै काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु गरेको छ । एअरलाइन्सले बुधबारदेखि चीनको हाङझाउका लागि नियमित सिधा उडान थालेको हो ।
हिमालय एअरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलका लागि सातामा दुईवटा सिधा उडान सञ्चालन गर्ने जनाएको छ ।
तालिकाअनुसार काठमाडौंबाट हाङझाउका लागि प्रत्येक आइतबार र बुधबार उडान हुनेछ । हाङझाउबाट काठमाडौं फर्कने उडान भने प्रत्येक सोमबार र बिहीबार सञ्चालन हुनेछ ।
सेप्टेम्बर ३० मा काठमाडौंबाट साँझ ५ः३७ बजे उडेको पहिलो उडान अक्टोबर १ को बिहान १ः०८ बजे हाङझाउ पुगेको थियो । त्यसैगरी, हाङझाउबाट अक्टोबर १ मा बिहान ३ः१८ बजे उडेको पहिलो फर्कने उडान सोही दिन बिहान ६ः२८ बजे काठमाडौँ अवतरण गरेको थियो। उक्त उडानमा १५४ जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।
हिमालय एअरलाइन्सले नयाँ उडानले नेपाल र चीनबीचको पर्यटन, व्यापार तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ । कम्पनीले यात्रुका लागि सहज र सुविधाजनक यात्रा विकल्प उपलब्ध गराउने उद्देश्यले आफ्नो अन्तर्राष्ट्रिय उडान सञ्जाल विस्तार गरिरहेको जनाएको छ ।
हिमालय एअरलाइन्सका उपाध्यक्ष तथा प्रवक्ता विजय श्रेष्ठले चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने कम्पनीको लक्ष्य रहेको बताए ।
उनका अनुसार काठमाडौं–हाङझाउ सिधा उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पर्यटन र व्यापार प्रवद्र्धनमा सहयोग पुग्नेछ ।
हिमालय एअरलाइन्सले मागअनुसार आगामी दिनमा काठमाडौं–हाङझाउ क्षेत्रमा उडान संख्या थप गर्ने योजना रहेको जनाएको छ । यात्रुले एअरलाइन्सका टिकट बिक्री कक्ष, आधिकारिक यात्रा साझेदार तथा कम्पनीको वेबसाइट र मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन् ।














