
काठमाडौं । नेपाली कांग्रेसले तत्कालील नेकपा नेतृत्वको सरकारले संवैधानिक निकायलाई ‘कम्युष्टिकरण’ गरेको आरोप लगाएको छ ।
स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेपछि बनेको नेकपाले संवैधानिक निकायको कम्युष्टिकरण गरेको आरोप लगाएको हो ।
कांग्रेसले घोषणापत्रमा भनेको छ– ‘सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार माध्यमले तीव्र आलोचना गर्दा गर्दै विवादास्पद संवैधानिक परिषदसम्बन्धी अध्यादेशको आधारमा नियुक्ति गरेर संवैधानिक निकायलाई नेकपाको भर्तीकेन्द्र बनाइएको थियो । उक्त मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।’
कांग्रेसले घोषणापत्रमार्फत केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले संवैधानिक निकायहरुलाई सरकारको लाचार छायाँ बनाएको समेत आरोप लगाएको छ । घोषणापत्रमा भनिएको छ–
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग जस्ता संवैधानिक निकायहरूलाई समेत सरकारको लाचार छायाँ बनाउने अभीष्टले सरकारले अत्यन्त विवादास्पद संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो ।’














