तनहुँ । तनहुँमा सत्तारुढ दलको गठबन्धनमा सहमति जुट्न नसकेपछि एक्ला एक्लै उम्मेदवारी दिने तयारी गरिएको छ ।
मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि जिल्लामा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच सहमति जुट्न सकेको छैन । भागवण्डामा सबै दलको आ–आफ्नै अडान छ । सुरुदेखिको अडान उस्तै छ । सोमवार बिहान बसेको गठबन्धन दलको बैठक बिनानिष्कर्ष टुंगिएपछि एक्ला एक्लै उम्मेदवारी दिने तयारी भएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । ‘बैठकमा सहमति जुट्न सकेन । सुरुमा जे अडाज थियो । अहिले पनि त्यही अडान छ । अब एक्ला एक्लै उम्मेदवारी दर्ता गराउँछौँ’, उनले भने ।
गठबन्धनमा सहमति भइनसके पनि ‘च्याप्टर क्लोज’ भने नभएको उनको भनाइ छ । उनले सहमतिका लागि अझै समय रहेको बताए । ‘मनोनयन दर्तापछि पनि सहमतिको प्रयास हुने छ’, उनले भने । मनोनयनको अन्तिम दिनसम्म पनि दलहरूले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । वडा सदस्यदेखि स्थानीय तहको प्रमुखको उम्मेदवार टुंगो लगाउनलाई दलहरू यतिबेला व्यस्त छन् । आइतवार मनोनयन दर्ताको पहिलो दिन जिल्लामा निकै कम मात्रले उम्मेदवारी दर्ता गराएका छन् ।
दोस्रो दिन आज पनि यतिबेलासम्म निर्वाचन अधिकृतको कार्यालयमा भिडभाड देखिँदैन । नेकपा एमालेले १२ बजेपछि जिल्लाभर एकसाथ मनोनय दर्ता गराउने जनाएको छ । यद्यपि, एमालेले पनि अहिलेसम्म उम्मेदवारको सूची सार्वजनिक गरेको भने छैन ।














