काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र भोलिदेखि ढुवानी गर्ने भएको छ । निर्वाचन आयोग, नेपालले सोमबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको पनि बताए ।
उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको छ । निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।
आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले सो आह्वान गरेको उल्लेख गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरुमाथि निर्वाचन कसुर अनुसार कारबाही हुने चेतावनी पनि दिए ।
निर्वाचन आयोगले सरुवा, पदस्थापन वा काजमा खटाइएका कर्मचारीहरुलाई निर्वाचन सम्पन्न गराउने प्रयोजनका लागि तोकिएको ठाउँमा यही वैशाख १५ गतेभित्र अनिवार्य रुपमा हाजिर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई पुनः निर्देशन दिएको छ ।
निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ वटा संस्थाहरुले अनुमति लिएको पनि जनाएको छ । ती संस्थाका करिव २० हजार पर्यवेक्षकहरुलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताए ।
निर्वाचन आयोगले आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी पनि तोकेको छ । आयोगका प्रवक्ता र सहप्रवक्ताको अतिरिक्त उनीहरुलाई पनि निर्वाचनको सूचना दिनका लागि निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोक्नु परेको प्रवक्ता पौडेलले बताए ।














