Logo
Logo

म्याग्दीमा २३७ पदमा ७५९ जनाको उम्मेदवारी


1k
Shares

म्याग्दी । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाले मनोनयन दर्ता गराएका छन् । म्याग्दीका ६ स्थानीय तह र ४५ वडाबाट निर्वाचित हुने पदका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

प्रमुख÷अध्यक्षमा ३२, उपप्रमुख÷उपाध्यक्षमा २८, वडाध्यक्षमा १६०, खुला सदस्यमा २८०, महिला सदस्यमा १२९ र दलित महिला सदस्यमा १३० जनाको उम्मेदवारी परेको छ ।

बेनी नगरपालिकाको ५२ पदमा १७९, धवलागिरिको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १४७, मङ्गलाको २७ पदमा १०५, रघुगङ्गाको ४२ पदमा १४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ । म्याग्दीका ६ स्थानीय तहमा ४५ वडा र ८५ हजार ३७५ मतदाता छन् । कूल मतदातामध्ये ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रोलिङ्गी छन् । यस्तै ७४ मतदानस्थल र ११४ मतदान केन्द्र छन् ।

धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा एकल उम्मेदवारी परेकाले नेकपा (माओवादी केन्द्र)का सीताकुमारी छन्त्याल निर्विरोध भएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले बताए । यस्तै बेनी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी अमृतदेवी बानियाँका छोरा रोमन्त बानियाँ माओवादी केन्द्रको चुनाव चिह्न लिएर बेनपा–६ को वडा सदस्यमा उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रबाट मङ्गला गाउँपालिका–१ कुहुँको वडा सदस्यकी उम्मेदवार ७८ वर्षीया यामकुमारी पुन सबैभन्दा ज्येष्ठ र नेशनल मङ्गोल अर्गनाइजेशनबाट मङ्गला गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार २४ वर्षीय भूमि घर्तीमगर सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्