Logo
Logo

जिबी राई रास्वपा सांसदहरुसँग सम्पर्कमै छन, पक्राउ गरियोस् : युवराज दुलाल


315
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले संसदलाई जानकारी नदिई विदेश भ्रमण गरेको, बाढी–पहिरो पीडितको राहतमा ढिलाइ गरेको र सुशासनको नाममा केवल स्टन्टबाजी गरेको भन्दै सरकारको आलोचना गरे ।

प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा उठाएका एजेण्डाहरू सकारात्मक भएपनि भ्रमणको पूर्व र उत्तरार्धमा संसदलाई जानकारी नदिएर व्यवस्थापिकाको अपमान गरेको आरोप लगाए ।

बाढी–पहिरोका कारण ज्यान गुमाएका र बेपत्ता नागरिकहरूको अवस्थाप्रति सरकार उदासीन देखिएको उनको भनाइ छ । उनले बेपत्ता भएकाहरूलाई तत्काल मृतक सरहको कानूनी हैसियत प्रदान गर्न र पीडितहरूलाई राहत तथा पुनस्र्थापनामा गम्भीर बन्न सरकारसँग माग गरे ।

राहत सामग्री गोदाममा थन्किएको र रकम खर्च हुन नसकेको भन्दै उनले प्रशासनिक ढिलासुस्तीप्रति रोष प्रकट गरे ।
भ्रष्टाचार नियन्त्रणको विषयमा उनले अघिल्लो सरकारको पालामा सुशासनको महाअभियान शुरु गरिएको र ठूला फाइल खोलिएकै कारण सरकार ढालिएको जिकिर गरे । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई पक्राउ गर्न पनि उनले सरकारलाई दबाब दिए ।

उनले भने, ‘यदि सरकार साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहन्छ भने बलिया आधारसहितका फाइलहरू खोलोस्, न कि स्टन्ट देखाएर जनतालाई भ्रममा राखोस् ।’

उनले पछिल्लो समय जनताले महँगी, बेरोजगारी र आधारभुत सेवामा भोगेका समस्याबारे सरकार मौन रहेको आरोप लगाए । रसुवा र कोरोला लगायतका नाकाहरू बन्द हुँदा चाडपर्वको समयमा बजारमा सामान महँगिएको उल्लेख गर्दै उनले उच्चस्तरीय कुटनीतिक पहल गरी तत्काल नाका खुलाउन माग गरे । उनले सरकारले सञ्चार माध्यमलाई नियन्त्रणमा राख्न खोजेको र सांसदहरूको स्तर निर्धारण गर्ने जस्ता कार्यले प्रधानमन्त्रीको साख गिराउने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्