Logo
Logo

अनुहार फेरियो, अहंकार फेरिएन


378
Shares

राजनीति भित्रका असली शत्रु ती अन्धभक्तहरु हुन्, जसले नेतालाई मान्छेबाट भगवान् बनाइदिन्छन् । भगवान् बनाइदिएपछि गल्तीलाई पनि लीला देख्न थाल्छन् । चाटुकारितालाई निष्ठा ठान्छन् र आलोचनालाई अपराध मान्छन् । अन्ततः त्यही अन्धभक्तिको भीडले नेतालाई यति एक्लो बनाइदिन्छ कि जनताको आवाज सुन्ने कान बन्द हुन्छन् र सत्य बोल्नेहरू वरिपरिबाट हराउँछन् ।

इतिहासले देखाइसकेको छ कि हिजो जसको नाममा अति जयजयकार हुन्थ्यो, भोलि त्यही व्यक्तिलाई जनताको आक्रोशबाट बचाउन हेलिकप्टर खोज्नुपर्ने अवस्था आउन सक्छ । आलोचना सुन्न नसक्ने शासक र चाटुकारको घेरामा रमाउने नेतृत्वले आफ्नो वरिपरि समर्थकको भीड होइन, पतनको घेरा निर्माण गरिरहेको हुन्छ । त्यसैले नयाँ पुस्ता, नयाँ अनुहार र नयाँ सोच राजनीतिमा आउनुपर्छ, नयाँ प्रश्न उठ्नुपर्छ र पुरानो राजनीतिका जरा हल्लिने गरी नयाँ बहस सुरु हुनुपर्छ भन्ने कुरामा कुनै पनि नेपाली नागरिकको विमति छैन ।

पुरानो शैलीको अस्थिरताबाट आजित बनेका जनताले बरु परिवर्तनको आशा नै नयाँ पुस्ताबाट गरिरहेका हुन्छन् । वर्षौँदेखि उही अनुहार, उही भाषण, उही संस्कार र उही सत्ता–संस्कृतिले थकित नेपाली समाजले नयाँ मान्छेमा केही फरक खोज्नु स्वाभाविक पनि हो ।

यद्यपि, प्रश्न त्यहाँबाट सुरु हुन्छ, जहाँ ‘नयाँ’ भन्ने परिचय त अगाडि आउँछ, तर व्यवहार हेर्दा पुरानै राजनीतिक संस्कारले पछाडिबाट धोती समातेको देखिन्छ । नयाँ हुनु उमेरको प्रमाणपत्र मात्र होइन, सामाजिक सञ्जालमा फलोअरको संख्या मात्र पनि होइन, दुई–चारवटा नयाँ चटके शब्द बोल्ने कला पनि होइन । नयाँ हुनु भनेको सोचमा नयाँ हुनु हो, व्यवहारमा नयाँ हुनु हो, आलोचना सुन्ने संस्कारमा नयाँ हुनु हो, आफूभन्दा फरक विचारलाई सम्मान गर्ने क्षमतामा नयाँ हुनु हो ।

सबैभन्दा ठूलो कुरा त आफूलाई अरूभन्दा माथि ठान्ने पुरानो रोगबाट मुक्त हुनु हो । तर विडम्बना के छ भने, हामीकहाँ केही नयाँ जोगीहरू राजनीतिमा यस्तो खरानी घसेर निस्किएका छन् कि पुराना जोगीहरूले त कम्तीमा आफ्नो पुरानो जोगीपन लुकाएका थिए, यी नयाँ जोगीहरूले त खरानीलाई नै आफ्नो चरित्रको प्रमाणपत्र बनाएका छन् ।

आफूलाई नयाँ घोषणा गरेपछि प्रश्न गर्न नपाइने, आलोचना गर्न नपाइने, गल्ती औँल्याउन नपाइने, फरक मत राख्न नपाइने र उनीहरूको जयजयकार नगर्नेबित्तिकै विरोधीको बिल्ला भिराइदिने हो भने नयाँ र पुरानोबीचको फरक आखिर कहाँ रह्यो ? हिजो पुरानाहरूले पनि यही गर्थे । आफ्नो वरिपरि ताली बजाउनेहरूको घेरा बनाउँथे, प्रश्न गर्नेहरूलाई दुस्मन ठान्थे, आलोचकलाई विरोधी भन्थे र आफूलाई मात्रै सत्यको ठेकेदार सम्झन्थे । आज त्यही संस्कार नयाँ अनुहारमा देखापरेपछि त्यसलाई हामीले कसरी नयाँ मान्ने ?

नयाँ पुस्ता आएर पुराना गल्ती दोहोर्याओस् भन्ने कुनै पनि नागरिकको चाहना होइन । बरु पुरानाले गरेका गल्तीबाट सिकेर नयाँ पुस्ताले अझ ठूलो राजनीतिक संस्कार निर्माण गरोस् भन्ने अपेक्षा हो । तर अपेक्षा राख्नु र प्रश्न गर्नु नै अपराध सरह बनाइएको छ । लोकतन्त्रमा कसैको प्रशंसा गर्न पाउने अधिकार जति हुन्छ, असहमति जनाउने अधिकार पनि त्यत्तिकै हुन्छ ।

जब आफूलाई परिवर्तनको संवाहक ठान्नेहरू असहमतिको आवाज सुन्नासाथ आफूभित्रको पुरानो सत्ताधारी अहंकार निकाल्न थाल्छन् समस्या त्यहीँबाट सुरु हुन्छ । खासमा एउटा साधारण नागरिकलाई राज्यका गलत कदम विरुद्ध बोल्नका निम्ति कसैले विरोधको निम्तो दिनु पर्दैन ।कसैसँग व्यक्तिगत दुस्मनी पालेर बस्नुपर्ने आवश्यकता पनि छैन ।

तर जब कसैले आफूलाई नयाँको पर्याय बनाउँदै अरूलाई होच्याउन थाल्छ, प्रश्न गर्नेहरूलाई अनेक आरोप लगाउन थाल्छ, आफ्नो वरिपरिका मानिसले गरेको गलत कामलाई पनि ‘नयाँपन’को पर्दाले छोप्न खोज्छ र आलोचनालाई षड्यन्त्रको नाम दिन थाल्छ, त्यतिबेला एउटा इमानदार नगारिकको मौनताले आफ्नो सीमा तोडेर उसको गलत रवैयाप्रति विरोध जनाउनु स्वभाविक प्रक्रिया हो ।

खरानी घसेर नयाँ जोगी बन्न, कालो पोशाक लगाएर नयाँ देखिन र नयाँ नारा बोल्न सजिलै छ । पुराना दल र पुराना नेतामाथि दुई–चारवटा चर्का शब्द फ्याँक्न पनि खासै ठूलो बौद्धिकता चाहिँदैन । कठिन कुरा भनेको आफू सत्ताको नजिक पुगेपछि पनि त्यही आदर्श जोगाइराख्नु हो । आफूलाई प्रश्न गरिँदा पनि मुस्कुराएर जवाफ दिन सक्नु , आफ्नै समर्थकले गरेको गल्तीलाई गल्ती भन्न सक्नु र आफूले गरेको निर्णय गलत भयो भने ‘हो, म गलत भएँ’ भन्न सक्नु हो ।

नागरिकले नयाँ राजनीति खोजेका हुन् , नयाँ प्रकारको अन्धभक्ति होइन । नयाँ नेतृत्व खोजेका हुन् , नयाँ देवता होइन । नयाँ प्रश्न खोजेका हुन् , नयाँ भजनमण्डली होइन । पुरानो राजनीतिक संस्कृतिबाट आजित भएर नयाँ अनुहारलाई ठाउँ दिएको समाजले भोलि त्यही नयाँ अनुहारको वरिपरि पनि पुरानै प्रकारको जयजयकार सुन्नुप¥यो भने त्यसलाई कदापि परिवर्तन भन्न मिल्दैन ।

आज कसैलाई नयाँ भनिएको छ, भोलि ऊ पनि पुरानो हुन सक्छ । समयले सबैलाई जाँच गर्छ । इतिहासले सबैको हिसाब राख्छ । त्यसैले अहिले नै आफूलाई अन्तिम सत्यको सिंहासनमा राखेर अरूलाई प्रमाणपत्र बाँड्नुको कुनै अर्थ छैन । राजनीति कुनै एउटा पुस्ताको निजी सम्पत्ति होइन । आज नयाँ भनिएको मान्छेलाई भोलि अर्को पुस्ताले पुरानो भन्ला । त्यसैले वास्तविक नयाँपन भनेको आफूभन्दा पछि आउने पुस्तालाई पनि प्रश्न गर्ने ठाउँ छोडिदिनु र आफूलाई पनि समयको कठघरामा उभ्याउन तयार हुनु हो ।

राजनीतिमा सबैभन्दा खतरनाक प्रवृत्ति यहीँबाट मौलाउन थाल्छ, जब नेताले ऐनाभन्दा ताली मन पराउन थाल्छ । त्यसपछि वरिपरि मानिसको भीड त हुन्छ, तर सत्यको अभाव हुन्छ । प्रशंसक धेरै हुन्छन्, तर सल्लाह दिनेहरू कम हुँदै जान्छन् । आफ्नो पक्षमा बोल्ने आवाज बाक्लिँदै जान्छ, तर आफ्नो कमजोरीबारे बोल्ने आवाज पातलिँदै जान्छ । अन्ततः नेता जनताबीच भएर पनि जनताबाट टाढा पुग्छ र जब वास्तविकता ढोका ढकढक्याउँदै आइपुग्छ, तब ताली बजाउने हातहरू कहाँ हुन्छन्, कसैलाई थाहा हुँदैन ।

त्यसैले नयाँ राजनीतिले सबैभन्दा पहिले आफूलाई देवत्वकरण हुनबाट जोगाउनुपर्छ । आफूलाई भगवान् बनाउने भक्तहरूबाट पनि जोगिनुपर्छ । किनकि, भगवान् बनाइएपछि मान्छेले गल्ती स्वीकार गर्न छोड्छ । अनि गल्ती स्वीकार नगर्ने राजनीति अन्ततः उल्टो बाटो हिड्न थाल्छ । एउटा नेताको असफलता उसको व्यक्तिगत असफलता मात्र रहँदैन, त्यसको मूल्य भोलि गएर सिंगो समाजले तिर्नुपर्छ ।

राजनीति लाइक, सेयर र कमेन्टको गणितले मात्रै चल्दैन । राजनीति जनताको दैनिक जीवनसँग जोडिएको हुन्छ । एउटा किसानको खेत, मजदुरको पसिना, युवाको भविष्य, विद्यार्थीको सपना, आमाको आँसु र सामान्य नागरिकको न्यायको अपेक्षासँग राजनीति जोडिएको हुन्छ । त्यसैले नयाँ राजनीतिले डिजिटल लोकप्रियताभन्दा माथि उठेर वास्तविक जनजीवनको कठोर प्रश्नसँग जुध्नुपर्छ । नयाँ हुनुको अर्थ आफूलाई आलोचनाभन्दा माथि राख्नु होइन । बरु आलोचना सुन्ने क्षमता विकास गर्नु हो ।

लोकतन्त्रमा नागरिकको काम ताली बजाउनु मात्रै होइन, राज्यको कर्तव्य माथि प्रश्न गर्नु पनि हो । नागरिकले नेता रोजेको आफ्नो र समाजको परिवर्तनको लागि हो, उहि नेताको दास बन्नका लागि होईन भन्ने कुरा आफुलाई नयाँ भन्नेहरुले हेक्का राख्न जरुरी छ । आफ्नो विवेक बन्धक राखेर फगत नेताको चाकरी गर्नैमै उद्दत मानसिकता कुनै पनि देशको असल नागरिक हुन सक्दैन । त्यसैले नयाँ झण्डामुनि पुरानै मानसिकता, नयाँ नाराभित्र पुरानै अहंकार र नयाँ अनुहारभित्र पुरानै सत्ता–संस्कार लुकाएर हिँड्नु भनेको इतिहासलाई झुक्याउने प्रयास मात्रै हुनेछ ।
लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्