पाल्पा । स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कामाथि थोपरेका छन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति जारी गर्दै कालीगण्डकी करिडोर सडकमा हिजो दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डासहितका १ सय २० जना जतिको समूह आएर चुनावको प्रचार गर्नेहरुमाथि कुटपिट गरेको दाबी गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेस रामपुर नगरका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजेतिर एमाले वडा नं. १० बाट अध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि सांघातिक हमला गरेको दाबी गरेका छन् ।
दुवै दलले कुटपिटपछि भएको भौतिक र मानवीय क्षतिको क्षतिपूर्ती भराउन माग गरेका छन् ।











