काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट खानीखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ २०५२ सालदेखि राजनीतिमा सक्रिय छन् । जनयुद्धमा पूर्णकालीन बनेका उनले तत्कालीन सरकारबाट तीनवर्ष जेल जीवनसमेत व्यतित गरेका छन् ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा (माओवादी केन्द्र)बाटै खानीखोला गाउँपालिको अध्यक्षमा उम्मेदवार बने पनि पराजित बनेका उनले यसपटक थप जोश र जितको सुनिश्चिततासहित खानीखोला गाउँपालिकाको अध्यक्षका लागि (माओवादी केन्द्र)बाटै उम्मेदवारी दिएका छन् ।
चुनावी एजेण्डा
खानीखोला निकै दुर्गम मानिएको क्षेत्र हो । त्यसैले, यस क्षेत्रलाई सुगम गाउँपालिकाको रुपमा विकसित गर्ने र आर्थिक रुपले यहाँका जनतालाई सुखी र समृद्ध बनाउने उनको मुख्य एजेण्डा छ । त्यस्तै, यहाँ उत्पादित कफीलाई बजारीकरण गरी जनताको आर्थिक स्रोतको मूल आधारमा रुपमा विकसित गर्ने, खानेपानी, शैक्षिक सुधार, यातायातको व्यवस्थालगायत भौतिक तथा आधारभूत आवश्यकतालाई पूर्ति गर्दै यहाँको सहरलाई नमूना सहरको रुपमा विकसित गर्ने, उन्नत जातका भैँसीहरु पालेर यहाँ उत्पादित दूधलाई दुई घण्टामा हेटौँडा पुग्ने गरी सडकको व्यवस्था मिलाउने तथा प्रदेश राजधानी हेटौँडा र जिल्ला सदरमुकाम धुलिखेलसम्म जोड्ने सडकको ट्रयाक ओपन मात्रै भएकाले त्यसलाई पनि कालोपत्रे गरी प्रदेश, राजधानी र सदरमुकामसँग यस क्षेत्रलाई सिधै जोड्ने लक्ष्य उनको छ ।
जितका आधारहरु
अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजय व्यहोरिसकेका उम्मेदवार छिन्ताङ यसपटक जित हासिल गर्नेमा ढुक्क छन् । उनी भन्छन्, ‘हाम्रो संगठन पहिलेको तुलनामा मजबुत छ । मेरो एजेण्डा हिजो पनि यही थियो, आज पनि उही छ ।’ त्यस्तै, अर्काे जितको आधार (माओवादी केन्द्र) र नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन रहेको उनी स्पष्ट पार्छन् ।
भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्ने लक्ष्य
भौगोलिक दृष्टिले दुर्गम मानिए पनि यहाँ भ्रष्टाचार व्याप्त छ । यहाँ व्याप्त भ्रष्टाचारको जरै उखेलेर सधैँका लागि उन्मूलन गर्ने लक्ष्य लिइएको छिन्ताङ बताउँछन् । भ्रष्टाचार निर्मुलीकरण सरकारको केन्द्रीय योजनाको राष्ट्रिय नीतिभित्र पर्ने भए पनि निर्मुलीकरणका लागि भने यहाँभित्र सुशासन कायम गर्ने, विकृति र विसंगतिलाई रोक्नका लागि स्थानीय तहबाट पहल गर्नेमा उनको जोड छ ।











