Logo
Logo

श्रीमती जिताउन जिल्लादेखि केन्द्रीयस्तरका नेता सक्रिय


रुपेन्द्र पटेल

7.9k
Shares

रौतहट । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रौतहट जिल्लामा नेताहरुले आफ्ना श्रीमतिहरुलाई जिताउन कम्मर कसेर लागेका छन् । जिल्ला तथा केन्द्रीयस्तरका विभिन्न राजनीतिक दलका नेताहरु पार्टीमा समर्पित कार्यकर्ताहरुलाई पाखा लगाएर परिवारभित्रका सदस्यलाई जिताउन लागिपरेका हुन् ।

पार्टीका अन्य पालिकाका उम्मेदवार जिताउन प्रचार–प्रसार नगर्ने नेताहरु आफ्ना श्रीमतिलाई निर्वाचित गराउन भने कसरत गरिरहेका छन् । परिवार र जातिवाद गर्ने प्रभु साहले आसन्न निर्वाचनका लागि आफ्नी श्रीमति, नातागोता र निजी स्वकीय सचिवलाई पनि चुनावी मैदानमा उतारेर आलोचनाको शिकार भइरहँदा जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले)का नेताहरुसमेत पछि परेका छैनन् ।

रौतहटको मौलापुर नगरपालिकाको प्रमुखमा प्रभु साहले दोस्रो पटक आफ्नी श्रीमति रिना साहलाइ उम्मेदवार बनाएका छन् । अख्तित्यार दुरुपयोग अनुसन्धान आयोगबाट घुस रकमसहित पक्राउ परेका देवाही गोनाही नगरपालिकाका निवर्तमान प्रमुख धर्मेन्द्र पटेलले आफ्नी श्रीमति मधुलिका रानी पटेललाई चुनावी प्रतिस्पर्धामा ल्याएर जिताउन लागिपरेका छन् ।

राजदेवी नगरपालिकामा नेकपा (एमाले)का नेता एवं संविधानसभा सदस्य बबन सिंहले आफ्नी श्रीमति अंशु सिंहलाई नगर प्रमुखको उम्मेदवार बनाएर चुनावी अभियानमा लागेका छन् । निवर्तमान उपप्रमुख अंशु सिंह यसअघि संघीय समाजवादी फोरम नेपालबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् । त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार सिंहले पनि आफ्नी श्रीमति बबिता सिंहलाई उपप्रमुख पदको उम्मेदवार बनाएका छन् ।

मधेश प्रदेशको रौतहट निर्वाचन क्षेत्र नम्बर २ ‘क’ बाट नेपाली कांग्रेसका प्रदेश सांसद नागेन्द्रप्रसाद सिन्हाले आफ्नी श्रीमति कौशल्यादेवी सिन्हालाई बागी उम्मेदवार बनाएर चुनावी प्रचारमा होमिएका छन् । नेपाली कांग्रेसबाट टिकट नदिँदा बेलुकी जसपामा प्रवेश गरेकी सिन्हा राति नेकपा (एकीकृत समाजवादी) र बिहान ९ बजे लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेर सोही पार्टीबाट इशनाथ नगरपालिकाको प्रमुख पदको प्रत्यासी भएकी हुन् ।

पार्टीमा लामो समयदेखि सक्रिय युवा नेता महमद जैद राजालाई नेकपा (एमाले)ले आधिकारिक उम्मेदवार नबनाउँदा पार्टी परित्याग गरी जनता समाजवादी पार्टीबाट नगर प्रमुखमा उम्मेदवारी दिएपछि नेकपा (एमाले)का नेता प्रभु साहले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका किरण साहकी श्रीमति सुर्मिला कोइराला एमालेबाट प्रमुख पदको प्रत्यासी बनेकी छन् ।

राजपुर नगरपालिकामा जातिय हिसाबले बलियो मानिएको मुस्लिम समुदायका पूर्वमन्त्री मोहमद आफताव आलमका छोरा डा. राजिक आलम र पूर्वस्वास्थ्य राज्य मन्त्री स्व.मोहमद मुस्ताक आलमका छोरा जैद राजाबीच सिधा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवारलाई सहानुभूति मत आउने अनुमान गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव रामचन्द्र गिरीले परोहा नगरपालिकामा आफ्नी श्रीमति सुगन्धी देवीलाई दोस्रो पटक उम्मेदवार बनाएका छन् ।

जनताद्वारा जनतामाथि गरिने शासन प्रणाली नै लोकतन्त्र हो भन्ने अहिलेको शासन व्यवस्थामा राजनीतिक दलका नेताहरु परिवारवाद, नातावाद, कृपावादमा लागिपरेकाले आम नागरिकहरु शासकीय प्रणाली र नेताहरुप्रति असन्तुष्ट देखिएका छन् । “पार्टीका लागि झण्डा बोक्ने, आन्दोलनमा ज्यान गुमाउने सामान्य कार्यकर्ता र मौका पर्दा फाइदा लिने नेताहरु हुँदा रछन् ।”, नेताहरुको श्रीमति जिताउ अभियानको रमिता हेरिरहेका स्थानीय एक असन्तुष्ट कार्यकर्ताले भने ।

प्रतिक्रिया दिनुहोस्