बारा । स्थानीय तह निर्वाचनको माहोलले सिंगै देश तातिएको छ । राजनीतिक दल र उम्मेदवारहरु चुनावको प्रचारप्रसारमा व्यस्त छन् ।
निर्वाचन आयोगले उम्मेदवार र दलहरुलाई स्पष्ट रुपमा आचारसंहिताको जानकारी गराएको छ । आचारसंहिता पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

तर, बाराको जितपुरसिमरा उपमहानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरुले आचारसंहिताविपरीत चुनावको प्रचारप्रसार गरिरहेका छन् ।
निर्वाचन आचारसंहिता, २०७८ ले उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३ फिट लम्बाइ र ३ फिट चौडाइ भएको दलको झन्डा र चुनाव चिह्न राख्न पाइने भनेको छ । गाडी, मोटरसाइकलसहितको र्याली, दलको झन्डा वा उम्मेदवारको चिन्हको तोरण बनाई प्रदर्शन गर्न, गराउन नहुने आचारसंहितामा उल्लेख ।
तर, नेकपा एमालेका मेयरसहितका उम्मेदवारहरुले गाडी पूरै ढाक्ने गरी चुनाव चिन्ह र उम्मेदवारको फोटो अंकित फ्लेक्स व्यानर लगाएर निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।
लोसपाका मेयरका उम्मदवार सञ्जयकुमार साह र उपमेयरका उम्मेदवार विपी मोक्तानले आफ्नो दलको चुनाव चिन्ह र उम्मेदवारको फोटोसहितको फ्लेक्स व्यानरले ना ५ च १७७२ नम्बरको गाडी ढाक्ने गरी प्रचार गरिरहेका छन् ।
एमालेका उम्मेदवारहरुले पनि गाडी नै ढाक्ने गरी फ्लेक्स व्यानर प्रदर्शन गरेर निर्वाचनको प्रचार गरिरहेका छन् । एमालेका तर्फबाट वडा नं. ७ का अध्यक्षका उम्मेदवार सुनिल गुप्ताले पनि पूरै गाडी नै ढाक्न गरी फ्लेक्स व्यानरले बनाएका छन् ।
त्यस्तै उनीहरुले माइकिङ, मोटरसाइकल र्याली, कानुनले तोकेभन्दा बढी संख्या र ठूलो आकारको झन्डा, ब्यानर, ब्याचलगायत प्रचार सामग्री प्रयोग गरिरहेका छन् ।












