Logo
Logo

‘प्रदेशमा मिडिया’ सार्वजनिक


126
Shares

काठमाडौं । ‘प्रदेशमा मिडिया’ नामक पुस्तक सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको यो पुस्तकमा संघ र प्रदेशहरुमा रहेका मिडियाको अवस्थालाई केलाइएको छ ।

पुस्तककाअनुसार नेपालमा ८ हजार ९ सय ५३ मिडिया छन् । जसमा चार हजार सात सय ८९ पत्रिका, ८ सय ८० एफएम रेडियो, एक सय ६४ टेलिभिजन र ३ हजार १२० अनलाइन समाचार माध्यम छन् । नेपाल पत्रकार महासंघको सदस्यता लिएका पत्रकारहरुको संख्या १३ हजार ७७ छ ।

सूचना तथा प्रसारण विभागमा २०७८ साल फागुनको पहिलो सातासम्म इजाजत लिएका रेडियो र टेलिभिजन एवं प्रेस काउन्सिल नेपालमा अभिलेख भएका पत्रपत्रिका र अनलाइन समाचार माध्यमलाई आधार बनाइ पुस्तकमा प्रदेश र जिल्ला तहमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्यांक विष्लेषण गरिएको छ ।

प्रदेशहरुमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मिडिया र पत्रकार छन् । बागमती प्रदेशमा ५ हजार ५१ मिडिया छन् भने पत्रकारको संख्या ५ हजार ७ सय ७६ छ ।

राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक पी खरेलले मिडियाको एकीकृत तथ्यांकले संघ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले मिडियाको वहुपक्षीय अध्ययनका लागि पनि सहयोग पुर्याउने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सही तथ्यांक विना समस्या पहिचान गर्न कठिन हुने धारणा व्यक्त गर्दै प्रदेश र स्थानीय तहमा मिडियाको नीति बनाउन सहयोग पुर्याउने बताए ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाको तथ्यांकमा एकरुपता नहुँदा बेला बेलामा समस्या परेको उल्लेख गर्दै तथ्यांकमा एकरुपताका लागि डिजिटाइज सिस्टममा जानेबारे छलफल सुरु गरेको जानकारी दिए ।

बाग्मती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्यांकलाई व्यवस्थित गर्नका लागि संघ र प्रदेशबीच समन्वय हुन जरुरी भएको बताए । उनले बाग्मती प्रदेशले मिडियाको विवरण राख्नका लागि अनलाइन प्रणालीको गृहकार्य गरिरहेको बताए ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष तृष्णा आचार्यले मिडियाको एकीकृत तथ्यांक र वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिँदै पुस्तकले मिडियाको व्यावहारिक तथा नीतिगत पक्षमा थप छलफल र अनुसन्धान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्