काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब १० दिन मात्र बाँकी छ । स्थानीय निर्वाचनको मिति घोषणा हुनुअगाडि एक्लैले सबै स्थानीय तह जित्छु भन्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली हिजोआज गल्दै गएका छन् ।

एमालेलाई सबैभन्दा ठूलो चुनौती नेकपा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीका कारण एमालेले गएको राष्ट्रियसभा निर्वाचनमा सबै सिट गुमाउनु पर्यो । प्रदेश प्रमुखबाट समेत बाहिरिनुपर्यो । यस हिसाबले हेर्दा पनि गठबन्धनका कारण एमालेले धेरै स्थानीय तह गुमाउने सम्भावना छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि एमालेबाट विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १ सयभन्दा बढी पालिका प्रमुख र १५० को हाराहारीमा उप्रमुख जित्ने दाबी गरेका छन् ।
त्यसैगरी एकीकृत समाजवादीको ‘कलम’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका १८७ पालिकाका उम्मेदवार मध्ये १५० भन्दा बढी स्थान ज्रित्ने दाबी सो पार्टीले गरेको छ । एकीकृत समाजवादीबाट २४ सय २८ जनाले महानगरदेखि स्थानीय तहको वडा अध्यक्षसम्म उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मेयर, काठमाडौं महानगरपालिकाको उपमेयर, इटहरी बुटबल र तुल्सीपुरको उपमयेर जित्ने दाबी गरेको छ । त्यसैगरी एमालेले २ सय ९० प्रमुख र ३ सय ६४ उपप्रमुख, १ सय ३२ पालिका अध्यक्ष, ३ सय ६४ उपाध्यक्ष र ५ हजार ८ सय ९३ वडामा वडाध्यक्षको उम्मेदवारी दिएको छ ।
एकीकृत समाजवादी पार्टीलाई पाँचदलीय गठबन्धनमा भएका कारण चुनाव जित्न सजिलो भएको छ भने गठबन्धनबाट उठेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई एकीकृत समाजवादीले सघाउँदा एमालेलाई संकट पर्नेे देखिन्छ । एकीकृत समाजवादी र एमालेको भोट बैंक एकै हुँदा समाजवादीबाटै एमालेलाई खतरा रहेको छ । त्यसैले एक्लै चुनाव जित्ने दाबी गरेका ओलीमा छटपटी बढ्न थालेको छ । पाँचदलीय गठबन्धनको एउटै उद्देश्य एमाले हराउनु हो भने, एमालेले ठाउँठाउँमा एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग एक्लै भिड्नुपर्ने छ ।
बालकोटनिकट स्रोतका अनुसार स्थानीय तहको धेरै ठाउँ गुमाउनुपर्ने रिपोर्ट आएपछि नेपाली कांग्रेस र माओवादी केन्द्र कमजोर भएको ठाउँमा उनीहरुसँग सहकार्य गरेर नजिकिने र मत बटुल्ने रणनीति एमालेले अबलम्बन गरेको छ । कतिपय ठाउँमा माओवादी केन्द्र र कांग्रेसको व्यवहारका कारण अपमानित भएका एकीकृत समाजवादीका नेता–कार्यकर्तालाई उनीहरु विरुद्ध उकास्न थालेको छ । एमालेले सबैभन्दा अप्ठेरो परेको सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा कतै नेपाली कांग्रेससँग त कतै माओवादीसँग नजिकिएर निर्वाचन सामना गर्ने रणनीति बनाएको छ । तर, अहिलेसम्म यो रणनीतिले सार्थकता पाउन भने सकेको छैन ।
भरतपुर महानगरपालिकामा कांग्रेसका बागी उम्मेदवारलाई उचालेर विजयी बन्ने दाउ एमालेको छ । भरतपुरमा रेणु दाहाललाई हराएर पाँचदलीय गठबन्धनको औचित्य समाप्त पार्ने खेलमा ओली लागेका छन् । २०७४ सालको निर्वाचन परिणामलाई हेर्ने हो भने भरतपुरमा एमाले कमजोर छैन । ०७४ को निर्वाचनमा रेणु झिनो मतान्तरले विजयी भएकी थिइन । तसर्थ, कांग्रेसको विद्रोहबाट आफ्ना उम्मेदवारले बाजी मार्ने आँकलन ओलीले गरेका छन् । त्यसैले ओलीले भरतपुरमा जगन्नाथ पौडेललाई ललिपप देखाएको स्रोतको दाबी छ । ०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसीहरूले माओवादी केन्द्रलाई धोका दिएर उम्मेदवार नै नभएको रुख चिह्न भोट हालेका थिए ।
केही कांग्रेसीले एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीलाई भोट हालेका थिए । २०७४ मा रेणु दाहालले एमालेका देवी ज्ञवालीलाई २०३ मतान्तरले मात्रै पराजित गरेका थिइन । रेणु ४३ हजार १ सय २७ मत ल्याएर विजयी भएकी थिइन् भने देवीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए । उपमेयरमा कांग्रेसकी पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी हुँदा एमालेकी दिव्या शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् । राप्रपाबाट मेयरका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ८ सय ४२ मत ल्याएका थिए । हाल तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने राप्रपा र एमालेबीच भरतपुरमा तालमेल भएको छ ।
एमालेबाट विद्रोह गरेको एकीकृत समाजवादी पाँचदलीय गठबन्धनमा आवद्ध छ । डडेल्धुरामा नेपाली कांग्रेसले कर्ण मल्ललाई कारबाही गरेपछि उनी पक्षीय कांग्रेससँग एमालेले तालमेल गरेको छ । त्यहाँ नेपाली कांग्रेस (वीपी) को चुनाव चिन्ह करुवाका लागि एमालेले भोट मागिदिने र वीपी कांग्रेसले आफ्नो प्रभाव क्षेत्रमा एमालेका लागि सूर्यमा भोट मागिदिने सहमति भएको छ । धनगढी उपमहानगरमा मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रले पाएपनि सम्पूर्ण वडामा गठबन्धनका दलहरू अलग–अलग उम्मेदवार बनेका छन् ।
वडाहरुको हकमा एमाले कतै नेकपा एकीकृत समाजवादीसँग त कतै माओवादी केन्द्रसँग निकटता देखाएर भोट बटुल्ने गरी अगाडि बढेको छ । तर, पाँच दलीय गठबन्धनका अलग–अलग उम्मेदवारीलाई सार्वजनिक घोषणामार्फत एकले अर्कोलाई सघाएर जाने गरी निस्कृय वा सक्रिय राख्ने तयारी भइरहेको छ । त्यसका लागि केन्द्रको पाँच दलीय गठबन्धनको कार्यदलले छलफल अगाडि बढाइसकेको एकीकृत समाजवादी पार्टीले दृष्टिलाई बताएको छ । सल्यानको बन्गाड कुपिन्डेदह नगरपालिकामा एमालेले नेपाली कांग्रेसको असन्तुष्ट समूहसँग सहकार्य गर्दै मेयरमा उम्मेदवारी दिएको छ ।
उपमेयरमा कांग्रेसको असन्तुष्ट समूहलाई सघाएको छ । गठबन्धनमा मेयर माओवादी र उपमेयर कांग्रेसले पाएपछि समाजवादीका तर्फबाट उपमेयरमा दिइएको उम्मेदवारी फिर्ता लिइएको छ । आधा कांग्रेस एमालेसँग मिल्ने र आधामात्रै गठबन्धनसँग हुने स्थितिमा एकीकृत समाजवादीको अलग्गै उम्मेदवार भइदिँदा एमालेले जित्ने खतराका कारण उपमेयरमा उम्मेदवारी दिएका जीवन बिसीले उम्मेदवारी फिर्ता लिएका हुन् । प्युठानको एउटा गाउँपालिकामा एमालेले एकतर्फी रुपमा जनमोर्चासँग गठबन्धन गरेको घोषणा गरेको छ ।
तर, जनमोर्चाले त्यसलाई अस्वीकार गरेपछि अहिले त्यहाँका एमालेहरु कांग्रेस र माओवादीलाई फकाउन व्यस्त छन् । दाङको तुलसीपुर उपमहानगरमा गठबन्धनको तर्फबाट कांग्रेसको मेयर र एकीकृत समाजवादीको उपमेयरका उम्मेदवार छन् । त्यहाँ एमालेले एकीकृत समाजवादी र कांग्रेसबीच फाटो ल्याउने र माओवादी केन्द्रलाई केही भोट दिलाउने भन्दै आफ्नो दुनो सोझ्याउने कसरत गर्दैछ । यस्तो प्रतिकूलताका बीच निर्वाचनमा भाग लिँदा कस्तो परिणाम आउँछ भन्ने अध्ययन गर्न एमालेले बनाएका टोलीहरूले पनि आफूखुशी रिपोर्ट पेश गरेका छन् ।
अध्यक्ष ओलीको निर्देशनमा भूगोलको स्थितिबारे जानकारी गराउन भनिएपछि गोकुल बाँस्कोटाले काभ्रेमा ०७४ कै परिणाम सुरक्षित हुने दाबी गरेका छन् । तर, एमालेकै कतिपय नेताले धुलिखेल र बनेपामै अप्ठेरो अवस्था रहेको बताएका छन् । ओलीले बाँस्कोटाको कुरा पत्याएर अप्ठेरो परेको भन्ने त्यहाँका कोही पनि नेताहरुलाई आइन्दा आफ्नो अगाडि नल्याउन भनेका छन् । अर्थात्, ‘हामी कमजोर छौँ’ भन्ने कुरा ओली सुन्नसमेत चाहँदैनन् । थपिएका नयाँ मतदाताभित्र एमाले एक्लैले ६० प्रतिशत मत ल्याउने आन्तरिक प्रक्षेपण गरिएको छ । तर, त्यसलाई एमालेकै नेताहरुले स्वीकारेका छैनन् ।
ओलीको भक्तिमा तल्लिन नेताहरुले युवा पुस्तामा ओलीको क्रेज बढेको कारण उनीहरुले सूर्यमै मतदान गर्ने भन्दै रिपोर्ट गरेका छन् । अर्काथरि एमालेले भने युवा पुस्तामा ओलीप्रति वितृष्णा बढेको बताएका छन् । यसरी मैदानको स्थितिबारे बुझ्न खोज्दा नराम्रो रिपोर्ट ल्याउनेलाई निषेध गर्ने र राम्रो छ भनी गलत रिपोर्ट ल्याउनेलाई वरिपरि राख्नाले यसपटक एमालेले ठूलो मार व्यहोर्ने एक केन्द्रीय सदस्य बताउँछन् । उदाहरणका लागि विशाल भट्टराईले खोटाङ जिल्लामा एकीकृत समाजवादीका कारण एमालेलाई २५ प्रतिशत क्षति पुगेको रिपोर्ट दिएका छन् ।
तर, दिक्तेलकी निवर्तमान उपमेयर विणा राईहरूले भट्टराईको रिपोर्ट गलत भन्दै विभाजनका कारण केही फरक नपर्ने बताएका छन् । अहिले बालकोटमा विशाल भट्टराईको कुरा सुनिँदैन, विणाहरुको हाईहाई छ । तर, रिर्पोटिङचाहिँ विशाल भट्टराईको ठीक भएको धेरैजसो एमाले नेताहरु बताउँछन् । ओलीलाई सबभन्दा बढी विश्वस्त बनाएको पालिका हो, काठमाडौं महानगरपालिका । केशव स्थापितले चुनाव जितेर अविर लगाउन मात्रै बाँकी भएको ओलीको मूल्याङ्कन छ । तर, स्थापितका बोली र व्यवहारका कारण मतदाता भाँडिएको पत्तो ओलीले पाएका छैनन् ।
ओली प्रधानमन्त्री रहँदा सरकारले गुठी जग्गा कब्जा गर्ने नियतका साथ नियमावली बनाएको कुरा काठमाडौंका जनताले बिर्सिएका छैनन् । त्यसबाट नेवार समुदायको मतमा पुग्ने असरबारे थुप्रै नेताहरूले ओलीलाई सुनाइसकेका छन् ।














