पोखरा । पोखरामा हुने नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म उक्त प्रतियोगिता हुँदैछ । प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि मुख्यमन्त्री पोखरेलले मंगलवार उच्चस्तरीय बैठक बोलाएका छन् । प्रतियोगिताको व्यवस्थापन र दोस्रो प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुने खेलाडीको छनोटबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले संघ सरकारको कार्यक्रम भए पनि पोखरामा हुन लागेको यस प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवालालाई जिम्मेवार भएर लाग्न निर्देशन दिए । प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि प्रदेशका तर्फबाट खेलाडी छनोटका लागि भने प्रदेशले नै बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
यसका लागि आवश्यक बजेटको प्रबन्ध गर्न सरकार तयार रहेको प्रतिबद्धता उनले जनाए । बैठकमा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकासमन्त्री कुमार खड्काले संघ सरकारसँगको सहकार्यमा प्रतियोगितालाई व्यवस्थित गर्र्नुपर्नेमा जोड दिए ।
प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रतियोगितामा सहभागिता जनाउने सन्दर्भमा मन्त्रिपरिषद्बाट निर्णय गरेर अगाडि बढ्ने उनले जानकारी गराए । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आधिकारिक पत्राचारका लागि संघ सरकारसँग आफूले पहल गर्ने बताए ।
प्रदेशमा खेलाडी छनोट र खर्च प्रक्रियाका लागि आवश्यक पर्ने कार्यविधि तत्काल निर्माण गरिने उनले जानकारी गराए । अर्थसचिव वैकुन्ठ अर्यालले पहिला खेलाडी छनोटको कार्यविधि तयार भएपछि बजेट व्यवस्थापन गरिने बताए । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले प्रतियोगिता सञ्चालनका लागि हालसम्म भएको प्रगतिबारे जानकारी गराए ।
उनले प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापनलगायत कामका लागि ५ करोड २० लाख रुपैयाँ आवश्यक पर्ने बताए । गण्डकीमा खेल गतिविधि अत्यधिक हुने भए पनि राष्ट्रियस्तरका प्रतियोगितामा गण्डकीको नतिजा भने अत्यन्तै कमजोर हुने गरेको छ । नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा गण्डकी छैटौँ नम्बरमा थियो ।
उक्त प्रतियोगितामा ७ वटा प्रदेशका अतिरिक्त ३ वटा विभागीय टोली सहभागी थिए । अहिले भने एनआरएनको टोलीसमेत थपिएर ११ वटा टोलीबीच प्रतियोगिता हुने भएको छ । प्रदेशका सबै जिल्लामा कम्तीमा पनि एक खेलको प्रतियोगिता हुनेगरी व्यवस्थापन मिलाउन लागिएको छ ।
गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ हजार खेलाडी, २ हजार व्यवस्थापक र १ हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष संलग्न हुनेछन् । प्रतियोगिताका कारण खेल गतिविधि मात्र नभएर पोखराको पर्यटनसमेत प्रवर्द्धन हुनेछ ।
बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन), युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयराज आचार्य, प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी दिवेश लोहनी, सशस्त्र प्रहरी बलका बाहिनीपति बाबुराम पाण्डे, नेपाली सेनाका प्रतिनिधि, खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद्का अधिकारीहरु सहभागी थिए ।











