चितवन । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले कांग्रेसभित्रको असन्तुष्टि अन्त्यका लागि सरलीकरणको काम भइरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनमा देखिएका असन्तुष्टि अन्त्यका लागि कांग्रेस लागिपरेको धारणा राखे । नेता भण्डारीले भने, “गठबन्धनलाई जिताउनु सबैको दायित्व हो । असन्तुष्टी मिलाउँदै जानुपर्छ ।”
स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई सम्झाउन अझै समय बाँकी रहेको उल्लेख गर्दै उनले असन्तुष्टि बढेका स्थानमा सम्हाल्न केन्द्रदेखि जिल्ला तहसम्म लागिपरेको बताए । “स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई महत्वका साथ हेरिएको छ”, उनले भने । राष्ट्रिय तहमा भएको गठबन्धनलाई हरेक पालिकास्तरमा कार्यान्वयन गर्ने प्रयास भइरहेको भण्डारीको भनाइ थियो ।
लोकतान्त्रिक परिपाटीलाई प्राथमिकता दिँदै उपलब्धिको रक्षाका लागि सबै लाग्नु आवश्यक रहेको उनले बताए । त्यस्तै, पार्टीका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ्ले पार्टीको केन्द्रीय निर्देशनको पालना गर्नुपर्ने बताए ।
“राजनीतिक जीवनमा केन्द्रको निर्णय मान्नुपर्छ”, उनले भने । टिकट वितरणको समयमा आफ्ना असन्तुष्टि रहे पनि केन्द्रको निर्णय आएपछि गठबन्धनको पक्षमा लाग्नुपर्ने गुरुङको भनाइ थियो ।











