रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका स्थायी बासिन्दा बाबुराम दाहाल पचासको दशकदेखि राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनको राजनीतिक यात्राले तीन दशक पूरा गरेको छ ।
यस अवधिमा उनले राजनीतिक र सामाजिक गतिविधिमा संलग्न रहँदै विभिन्न पदमा रहेर नेतृत्व गरे । उनी चन्द्रपुर क्षेत्रमा सादाजीवन बिताइरहेका छन् । के युवा, के महिला, के दलित जनजाति, के विपन्न वर्ग, जुनसुकै भाषाभाषी र धार्मिक समुदायमा उनी परिचित छन् । कुटनीतिक भिजन र स्पष्ट वक्ताका रुपमा उनी चिनिन्छन्।

तत्कालीन अवस्थामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री डा. वंशीधर मिश्र र संबिधानसभा सदस्य रामकुमार भट्टराईलाई आफ्नो क्षेत्रबाट संसद निर्वाचित गराउँदा उनले युवा परिचालनको नेतृत्व गरेका थिए । स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन उनी दिलो ज्यान दिएर सक्रिय रहँदै आए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रपुरको मेयरका लागि टिकट पाएपनि पार्टीभित्र द्वन्द्वको कारण मनोनयन दर्ता गराउनबाट उनी बञ्चित भए ।
अहिले नेकपा एकीकृत समाजवादी रौतहट जिल्ला सचिवालय सदस्य र चन्द्रपुर नगर कमिटीका अध्यक्ष रहेका उनी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ‘कलम’ चिन्ह लिएर चन्द्रपुरको मेयर पदमा प्रतिष्पर्धामा होमिएका छन् ।
मेयरमा उम्मेदवारी दिएकामध्ये बाबुरामलाई योग्य उम्मेदवारका रुपमा ब्याख्या गर्ने गरेका छन् । भित्रभित्रै ‘पार्टी होइन, व्यक्ति रोजौँ, हाम्रा मात्रै होइन राम्रा रोजौँ’ भन्ने अभियानसमेत उनले चलाएका छन् ।
को हुन् बाबुराम दाहाल ?
चन्द्रपुर नगरपालिकाकामा २०३८ सालमा जन्मिएका बाबुरामले चन्द्रपुर ४ ठाडाटोलस्थित दुर्गा माध्यमिक विद्यालयबाट २०५३ सालमा एसएलसी उत्तीर्ण गरे । शिक्षाको कुरा गर्दा उनले स्नातकतहसम्म अध्ययन गरेका छन् ।
राजनीतिक यात्रा
तत्कालीन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूमा संगठित हुँदै उनको राजनीतिक यात्रा सुरु भएको हो । २०५० सालमा अनेरास्ववियूको दुर्गा मावि प्रारम्भिक कमिटीको सचिव भएर विधार्थीको हकहितको पक्षमा उनले आवाज उठाए ।
२०५३ सालमा अनेरास्ववियूको रौतहट जिल्ला सचिव, २०५४ सालमा नारायणी अञ्चल सदस्य भएर विधार्थी राजनीतिमा सक्रिय रहे । २०६२ सालमा नेकपा एमालेकै युवा संगठन प्ररायू संघको जिल्ला संयोजक र २०६३ सालमा संगठनको जिल्ला अध्यक्ष भए ।
२०६४ सालमा तत्कालीन नेकपा एमालेको जिल्ला कमिटी सदस्य र २०६५ मा क्षेत्रीय कमिटी अध्यक्ष भई दुई कार्यकालस एमालेको क्षेत्रीय राजनीतिमा सक्रिय भए । नेकपा एमालेमा विद्रोहपछि बनेको नेकपा एकीकृत समाजवादीको हाल उनी जिल्ला सचिवालय सदस्य र चन्द्रपुर नगर अध्यक्ष छन् ।
सामाजिक संघसंस्थामा संलग्नता
बाबुराम राजनीति क्षेत्रमा सक्रियतासँगै सामाजिक संघसंस्थामा रहेर पनि देश र समाजका लागि योगदान दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघको जिल्ला अध्यक्ष, तीन कार्यकालसम्म दुर्गा मावि ठाडाटोल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, प्रदेश फुटबल संघ मधेस प्रदेश सदस्य र जनज्योति बहुमुखी क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष भइ सामाजिक कार्यमा उनले अर्थपूर्ण सहभागिता जनाए ।
उपलब्धी-सफलता
सामाजिक कार्यमा संलग्न रहँदा दुर्गा माविको भव्य पक्की भवन निर्माण, जनज्योति बहुमुखी क्याम्पसलाई ऋणमुक्त बनाइ नाफामा ल्याउन र महिला फुटबलको क्षेत्रमा चन्द्रपुरलाई प्रख्यात बनाउनसमेत उल्लेख्य भूमिका निर्वाह गरे । साथै, सामुदायिक वनको दोहोरो करविरुद्ध आन्दोलनको नेतृत्वसमेत गरेका उनी मेयरका अब्बल उम्मेदवारको रुपमा हेएिका छन् ।











