Logo
Logo
टिप्पणी

विस्थापित हुने लय समातेका स्थापित



काठमाडौं । स्थानीय तह निर्वाचनमा एमालेलाई काठमाडौंमा सबैभन्दा ठूलो धक्का ओली प्रधानमन्त्री हुँदा जारी गरेको गुठी विधेयकको घटनाले दिनेछ ।

काठमाडौंभित्रका परम्परागत गुठीका जग्गा सरकारले आफ्नो कब्जामा लिएर भू–माफिया, बिचौलिया व्यापारीलाई भाडामा दिएर आजन्म कमिशन खाने ओलीको योजना रहेको आरोप लाग्ने गरेको छ ।

विधेयकविरुद्ध काठमाडौंका लाखौं नेवार समुदायले प्रदर्शन गरेपछि ओली सरकार उक्त विधेयक फिर्ता गर्न बाध्य भएको थियो । इतिहासमै एमालेविरुद्ध काठमाडौंका नेवार समुदाय आन्दोलनमा उत्रिएको त्यो महत्वपूर्ण घटना थियो । गुठी मास्ने ओलीको त्यो निर्णय नेवार समुदायमा नराम्ररी बिझेको छ ।

यसैबीच, स्थानिय तह निर्वाचनमा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाएको छ । स्थापितलाई पनि सार्वजनिक जग्गा भाडामा दिने र कमिशन खाने व्यक्तिको रुपमा आरोप लाग्ने गरेको छ ।

स्थापित पहिलोपटक मेयर हुँदा धरहरा, गोंगबु बसपार्क, बालाजु उद्यान, आकाशे पुल निजी क्षेत्रलाई भाडामा दिएर करोडौं कमिशन खाएको आरोप त्यतिबेलै वडाअध्यक्षहरुले लगाएका थिए । पछि, त्यो कुरा त्यत्तिकै सेलाएर गयो ।

केशव स्थापित कुनै समय स्वप्निल सपनाहरुका साच्चिकै ‘स्थापित’ थिए । तर आज, अभद्र र घृणित अभिव्यक्तिका कारण ‘विस्थापित’ हुने लयमा देखिन्छन् ।

पहिला–पहिला स्वप्निल योजनाहरु सुनाएर चर्चाको शिखरमा रहेका स्थापित पछिल्लो समय भने सबैैभन्दा आलोचित पत्र बनेका छन् । भोट माग्न जनताको घरदैलोमा रहेका स्थापितसँग आजकाल ‘तित्राको मुखै बैरी’ भन्ने उखान मेल खान्छ । जे बोले पनि स्थापितको विरोध मात्रै हुन्छ । सामाजिक सञ्जालमा त स्थापितलाई आलोचना नगर्ने कमै भेटिन्छन् ।

अधिकांश युवा सामाजिक सञ्जालमा अभ्यस्त छन् । नयाँ थपिएका मतदाताको मत जता जान्छ काठमाडौंको मेयर उसैले जित्छ भन्ने अनुमान पनि छ । स्थापितका पछिल्ला अभिव्यक्तिहरु सुनेपछि एक सामाजिक संजाल प्रयोगकर्ता लेख्छन– ‘उम्मेदवारले बोल्दा, भाषण गर्दा र सामाजिक संजाल प्रयोग गर्दा विचार पुर्याउनुपर्छ । अन्यथा, दुईतिहाइका ओली जस्तै ‘जोकर फाल्तु’ बनिन्छ । केशव स्थापित पनि सोही लाइनमा देखिख्छन् ।’

एमालेले चुनावी घोषणापत्र र आफूले गर्ने कामको प्रतिबद्धतापत्र पनि जारी गरेको छ । ती कुरालाई मेयरका उम्मेदवार स्थापितले कतै चर्चा गरेका सुनिदैन । मञ्च पायो कि ओलीले जस्तो ‘प्याच्च’ बोलेर मतदाता चिढाउने र प्रतिस्पर्धीलाई नानाथरी लान्छना लगाउन तम्सिहाल्छन् ।

मे दिवसका दिन एउटा कार्यक्रममा स्थापितले मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति अराजनीतिक र अभद्र टिप्पणी गरे । स्थापितले बालेन शाह ठकुरी नभएको र तराईको मधेसी समुदायको भन्दै ‘अन्तर्राष्ट्रिय ठग’ भने । स्थापितको उक्त अभिव्यक्तिले काठमाडौंमा बसोबास गर्ने मधेसी समुदाय पक्कै चिढिएका छन् ।

स्थापितले उक्त कार्यक्रमबाट गठबन्धनका उम्मेदवार बनेकी सिर्जना सिंहलाई गणेशमान सिंहको बुहारी भनेर हेप्ने काम गरे । स्थापित पाको न्यूरोडमा गुच्चा खेल्दा सिर्जना श्रेष्ठ सिंह नेविसंघमा आवद्ध थिइन् । २०३५÷३६ सालको आन्दोलनमा उनी नेविसंघको नेतृ थिइन् भन्ने कुरा स्थापितलाई थाहा हुने कुरा पनि भएन ।

निर्वाचनको मुखमा आफ्नो प्रतिद्वन्द्वीलाई राजनीतिक दृष्टिले हेरेर व्यवहार गर्नु पर्नेमा गणेशमानको बुहारी भन्ने जुन शब्द प्रयोग गरे, त्यसले काठमाडौंका नेवार समुदायको महिलाको मन कुढिनु स्वभाविक हो ।

एमालेले काठमाडौंमा स्थापितजस्ता अति विवादित व्यक्तिलाई उम्मेदवार बनाएकोले गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहको जित सहज किन नहुने ?

स्थापितलाई आफ्नै पूर्व कर्मचारीबाट यौन दुराचारको आरोप लाग्दै आएको छ । आरोप लाग्नु नै अपराध सावित हुने त होइन । यस्तो अवस्थामा उक्त आरोपलाई शालिन ढंगले सामना गर्नु नै स्थापितका लागि उत्तम हुन्छ । तर, आरोपबारे प्रश्न गर्ने युवतिलाई अभद्र शब्द प्रयोग गर्दै थर्काउँदा घाटा त स्थापितलाई नै भयो । स्थापितबारे नकारात्मक आचरणको चुली थपियो ।

स्थापितलाई प्रश्न सोध्ने विद्यार्थीलाई उनले भने– ‘यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठिक छैन । म भोलि यो महिलाले ‘वेश्यावृत्ति’ गर्यो भनेर छपाउ ।’

स्थापितको यस्तो लाजमर्दो जवाफले त्यहाँ उपस्थित कलिला विद्यार्थीहरुको मस्तिष्कमा कस्तो प्रभाव पर्याे होला ? यस्तो अभिव्यक्तिले महिनामाथि सकारात्मक भाव त पक्कै पैदा हुँदैन । सोचनीय विषय किन पनि छ भने प्रश्न गर्ने ती विद्यार्थी हाम्रै छोरीबेटी हुन् ।

स्थापितको उम्मेदवारीले निर्वाचनको माहेल नै बिग्रिएको छ । एउटा पार्टीको जिम्मेवार व्यक्तिले राजनीतिक रुपमा प्रतिस्पर्धा गर्नुपर्छ । आफ्ना प्रतिद्वन्द्वीलाई ‘फलानाको बुहारी भाषण गर्न पनि जान्दैन’ भन्ने आरोप लगाएर सार्वजनिकरुपमा बेइज्जती गर्नु आफ्नो पतन आफैँले निम्त्याउनु हो ।

मानौं– केशव स्थापित काठमाडौंको मेयर बने । अनि त्यसपछिका दिन नि ? मतदान गर्नेले आफ्नै हात थुक्दै बस्नु पर्ने दिन आयो भने के गर्ने नि ? मेयरको उम्मेदवार हुँदै त यस्तो रवाफ देखाउनेले मेयर भइसकेपछि के गर्लान ? स्थापित उम्मेदवार भएर भोट माग्दै गर्दा आम मतदाताले पक्कै यति चाहिँ सोचिरहेकै हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्