काठमाडौं । नेकपा एकीकृत समावादी अध्यक्ष माधवकुमार नेपालले ‘कहीँ नभएको जात्रा केपी शर्मा ओलीको पालामा’ भएकाे टिप्पणी गरेका छन् । पाँच दलीय गठबन्धनले शुक्रबार रत्नपार्कमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने- ओलीबाट कसरी संविधान मिच्ने काम भयो ? कसरी दुईतिहाईको सरकार आफैले धुजाधुजा पार्ने काम भयो ? कसरी जनाधारको अनादार गर्ने काम भयो ? कसरी मुलुकमा भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने काम भए ? कसरी अत्यन्तै हाँस्यपद काम भए ? एकैचोटी एकैठाउँमा बसेर देशभरका पालिकामा अस्पताल उद्घाटन गर्ने काम भयो । ६ महिना, एक वर्षपछि सम्मपन्न हुने प्रयोजनहरु आजै उद्घाटन गर्ने काम भयो । पाँच वर्षपछि सम्पन्न हुने आयोजना आजै उद्घाटन हुने काम भयाे । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो । त्यस्तो जात्रा देखाउनेलाई विर्सेर पनि मत दिने काम गर्नु हुँदैन ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमालेलाई अहिले भोट दिए पछि पछुताउनुपर्ने बताए । उनले भने, ‘प्रतिगामीलाई मत दिनु भयो भने पछि तपाईंहरु पनि पछुताउनुपर्ने छ । तपाईंका सन्ताहरुले दुख भोग्नुपर्ने छ । यदि हामी भविष्यलाई सुनिश्चित गर्न चाहन्छौँ भने, परिवर्तनको यात्रामा जान चाहन्छौँ भने अहिलेसम्म प्राप्ता भएको उपलब्धि जोगाउन चाहन्छौँ भने पाँच दलीय गठबन्धनको विकल्प छैन ।’
प्रतिगामी दक्षिणपन्थी गठबन्धनविरुद्ध सबै एकजुट हुनुपर्ने बताए । ‘अहिले दुईवटा गठबन्धनबीचको कुरा छ। एउटा प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ। त्यसको नेतृत्व नेकपा एमालेले गरिरहेको छ । केपी ओलीले गरिरहेका छन्, ’उनले भने, ‘त्यहाँ राप्रपा जस्ता राजावादी शक्तिहरु त्यो गठबन्धनमा सामेल छन् । विदेशीका सामु लम्पसार पर्नेहरु छन् । संविधान विरोधीहरु त्यस गठबन्धनमा छन् ।’ उनले अर्कोतर्फ प्रगतिशिल गठबन्धन रहेको भन्दै संविधान रक्षा गर्ने, समाजवादको बाटोमा अगाडी बढ्ने शक्तिलाई मत दिएर विजय गराउनु जरुरी रहेको बताए ।











